रंगेलीमा हुलाकी बाटोमा मकै सुकाउन नगरपालिकाको सहमति

सर्वदलीय सहमतिपछि किसानहरूलाई मापदण्डसहित मकै सुकाउन अनुमति

रंगेली, — रंगेली नगरपालिकाले किसानहरूको माग बुझेको भन्दै हुलाकी राजमार्ग अन्तर्गतका सडक खण्डहरूमा मकै सुकाउन मापदण्डसहित सहमति जनाएको छ। नगर उपप्रमुख भुमा पराजुलीको संयोजनमा भएको सर्वदलीय बैठकले यो निर्णय गरेको हो।

यसअघि, जेठ ५ गते रंगेली–७, निचा मारीमा मकै सुकाइएका स्थानमा सवारी साधनले ठक्कर दिँदा १३ वर्षीया बालिकाको ज्यान गएपछि उक्त क्षेत्रमा आक्रोश फैलिएको थियो। पीडित परिवार र स्थानीयबासीले सडकमा मकै सुकाउन प्रतिबन्ध लगाउन माग गरेपछि, नगरपालिकाले जेठ ६ गते औपचारिक सूचना जारी गर्दै मकै सुकाउन रोक लगाएको थियो।

तर, लगत्तै जेठ ७ गते नगर प्रहरीले मकै उठाएपछि किसानहरू थप असन्तुष्ट बने। त्यसपछिको दिन, जेठ ८ गते नगरमा बसेको सर्वदलीय बैठकले पुनः मापदण्डका आधारमा मकै सुकाउने निर्णय लिएको हो।

स्थानीय किसानहरूका अनुसार, वर्षातका कारण खेतमै मकै कुहिने अवस्था आएसँगै सुकाउने ठाउँ अभावले बाटोमै मकै सुकाउन बाध्य भएका थिए। अर्को पक्षमा, घर आँगनमा माटो हाल्न नगरपालिका बाट लगाइएको माटो उत्खनन कर तथा जरिवानाको कारण उनीहरू सुकाउने वैकल्पिक स्थानसमेत बनाउन सकेका छैनन्।

विशेषगरी ग्रामीण क्षेत्रका किसानहरूले घर आँगनमा नयाँ माटो हालेर पानी सोस्ने क्षमता बढाउँछन्, जसले मकै सुकाउन सजिलो बनाउँछ। तर, माटो ल्याउन र हाल्न लाग्ने कर तथा प्रतिबन्धले गर्दा किसानहरू सडकमा मकै सुकाउन बाध्य भएको बताइएको छ।


Previous Post Next Post

Ads

نموذج الاتصال