जेनजी आन्दोलनपछि बनेको राजनीतिक परिस्थितिले संविधान कमजोर बनाएको भन्दै लोकतन्त्र जोगाउन सहमति, सहकार्य र सहअस्तित्वको आवश्यकता औँल्याइयो
काठमाडौं —
कांग्रेस नेता डा. शेखर कोइरालाले देश आसन्न प्रतिनिधिसभा निर्वाचनको संघारमा रहेको बेला संविधान र लोकतान्त्रिक प्रणाली गम्भीर संकटमा परेको बताएका छन्। जेनजी आन्दोलनपछि निर्वाचित सरकार विस्थापित भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अनिर्वाचित सरकार गठन हुनु संविधानका लागि चुनौती बनेको उनको भनाइ छ।
कोइरालाले संविधानसभाबाट जारी नेपालको संविधान यतिखेर कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै नेपाली कांग्रेसका संस्थापक नेताहरूले आठ दशकअघि ‘देशको संविधान जनताले आफैँ लेख्नेछन्’ भन्ने मूल आदर्शबाट सुरु गरेको लोकतान्त्रिक आन्दोलनको स्मरण गराएका छन्। अनेकौँ संघर्ष, यातना र बलिदानबाट प्राप्त लोकतन्त्रलाई फेरि संकटमा पार्नु दुर्भाग्यपूर्ण हुने उनको भनाइ छ।
भदौ २४ देखि २७ सम्म देखिएको अन्योल, अराजकता र संविधानहीन अवस्थाको पुनरावृत्ति नचाहनु नै सहिदहरूप्रति सच्चा न्याय हुने कोइरालाले बताएका छन्। उनले आन्तरिक सुरक्षाका लागि सेनाको सक्रियता आवश्यक पर्ने अवस्था आउनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन्।
जेनजी आन्दोलनबाट सिर्जित राजनीतिक परिस्थितिमा मूलधारका दलहरूभित्र नेतृत्व र कार्यशैलीबारे बहस सुरु हुनु स्वाभाविक भएको उनको भनाइ छ। कांग्रेसभित्र पनि यही बहसका कारण रूपान्तरण र पुस्तान्तरणको आवाज उठिरहेको उनले बताएका छन्।
कोइरालाले कांग्रेस विधान लोकतान्त्रिक मूल्यमा आधारित रहेको र पार्टीभित्र शक्ति पृथकीकरणको अभ्यास भइरहेको बताए। उनले पार्टीभित्र सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसात गर्दै विशेष महाधिवेशनमार्फत निकास खोज्न अपिल गरेका छन्।
उनले आफू कुनै पद, कुर्सी वा व्यक्तिगत महत्त्वाकांक्षाका लागि नभई कांग्रेसको एकता, विधि र लोकतान्त्रिक अभ्यासका लागि संघर्षरत रहेको स्पष्ट पारे। कांग्रेस विभाजनतर्फ जान नदिने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै उनले सबै महाधिवेशन प्रतिनिधिलाई ऐतिहासिक जिम्मेवारी बहन गर्न आग्रह गरेका छन्।
कोइरालाले बीपी कोइरालादेखि सुशील कोइरालासम्मका अग्रज नेताहरूले देखाएको मेलमिलापको मार्गबाट आफू विचलित नहुने बताउँदै कांग्रेस एकताबाट मात्र देश र लोकतन्त्र सुरक्षित हुने विश्वास व्यक्त गरेका छन्।
