आमगाछीमा जन्माष्टमीको मौलिक परम्परा : संकल्प, मूर्ति स्थापना र लोप हुँदै गएको ‘भकतै ' संस्कृति
सुरेन्द्र मण्डल ।
रङ्गेली । देशभर हिन्दु धर्मावलम्बीहरूले आज भगवान् श्रीकृष्णको जन्मोत्सव कृष्ण जन्माष्टमी श्रद्धा, भक्ति र गहिरो आस्थाका साथ मनाइरहेका छन्। कृष्णप्रतिको अटुट विश्वासमा भक्तजनहरू पूजा–आराधना गर्दै सुख, शान्ति, स्वास्थ्य, सन्तान तथा समृद्धिको कामना गरिरहेका छन्।
देशभरका राधा–कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूलाई रङ्गीचङ्गी फूल, रङरोगन र आकर्षक सजावटले झकिझकाउ बनाइएको छ। पूजा–आराधनासँगै विभिन्न स्थानमा मेला तथा धार्मिक कार्यक्रमले जन्माष्टमीलाई उत्सवमय बनाएका छन्।
तर रङ्गेली नगरपालिका–५ आमगाछीमा कृष्ण जन्माष्टमी मनाउने आफ्नै मौलिक परम्परा छ। यहाँ राधा–कृष्णको छुट्टै विशेष मन्दिर नभए पनि भगवान् कृष्णप्रतिको स्थानीय आस्था पुस्तौँदेखि विभिन्न परम्परामार्फत जीवित रहँदै आएको छ।
स्थानीय श्रद्धालुहरूले सुख–शान्ति, स्वास्थ्य लाभ, सन्तान प्राप्ति, भूमि लाभ, व्यापार–व्यवसायमा सफलता लगायत जीवनका विभिन्न मनोकामना पूरा होऊन् भन्ने संकल्प भगवान् कृष्णप्रति गर्ने गर्छन्। संकल्प पूरा भएपछि सम्बन्धित परिवारले भगवान् श्रीकृष्णको मूर्ति स्थापना गरी जन्माष्टमीको दिन भव्य पूजापाठ, भक्ति र आराधना गर्ने चलन रहिआएको छ।
यसै परम्पराअनुसार रङ्गेली–५ आमगाछीका विवेक मण्डलले स्थापना गरेको श्रीकृष्ण जन्माष्टमी महोत्सवमा आज श्रद्धालुहरूको उल्लेख्य भीड लागेको छ। महिला, पुरुष, वृद्धवृद्धादेखि बालबालिकासम्म मूर्ति दर्शन तथा पूजाआराधनाका लागि सहभागी भएका छन्। मूर्ति स्थापना गर्ने परिवारका आफन्त तथा इष्टमित्रले खुसी साट्दै जन्माष्टमी मनाएका छन् भने स्थानीय श्रद्धालुहरू पनि परिवारसहित सहभागी भएर धार्मिक उत्सव र मेलाको आनन्द लिएका छन्।
जन्माष्टमीसँग जोडिएको ‘भकतै '—हराउँदै गएको एउटा लोकसंस्कृति
आमगाछीको जन्माष्टमीको अर्को महत्वपूर्ण पक्ष हो भकतै '।
भकतै 'भनेको स्थानीय रूपमा पाँच वा पाँचभन्दा बढी व्यक्तिहरूको समूह मिलेर सामूहिक रूपमा गाउने–बजाउने लोकसांस्कृतिक परम्परा हो। जन्माष्टमीको अवसरमा भक्ताई समूह भेला भएर धार्मिक तथा लोकधुनमा गीत गाउने–बजाउने र वातावरणलाई भक्तिमय बनाउने परम्परा रहिआएको छ।
तर आधुनिक मनोरञ्जनका माध्यम र बदलिँदो सामाजिक जीवनशैलीका कारण कहिल्यै गाउँको उत्सवको अभिन्न अंग रहेको भकतै 'संस्कृति अहिले विस्तारै हराउँदै जाने अवस्थामा पुगेको स्थानीय समाजले महसुस गर्न थालेको छ।
कुनै समय गाउँको चोक, आँगन र धार्मिक उत्सवमा सामूहिक रूपमा गुञ्जिने भकतै 'का स्वरहरू आज पहिले जस्तो सुनिन छाडेका छन्। त्यसैले जन्माष्टमीको अवसरमा अझै पनि भक्ताई समूह बसेर गाउने–बजाउने दृश्य केवल मनोरञ्जन होइन, हराउँदै गएको एउटा पुस्तौँ पुरानो लोकसंस्कृतिको सम्झना पनि हो।
आज आमगाछीमा देखिएको भीड, भगवान् कृष्णको मूर्ति, पूजा–आराधना, मेला र भकतै 'को सामूहिक प्रस्तुति—यी सबैले धर्मसँगै गाउँको सामाजिक सम्बन्ध र मौलिक लोकसंस्कृतिको एउटा जीवन्त तस्वीर प्रस्तुत गरेका छन्।
परम्परा पुरानो हुँदैमा त्यसको मूल्य पुरानो हुँदैन।भकतैका ती स्वरहरू हराए भने गाउँको एउटा सांस्कृतिक पहिचान पनि हराउन सक्छ।
यही कारण जन्माष्टमीजस्ता अवसरमा देखिने यस्ता स्थानीय परम्पराको संरक्षण र नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु आजको आवश्यकता बनेको छ।