लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ टेकअफपछि दुर्घटनाग्रस्त, भीषण आगलागी र गहिरो शोक
अहमदाबाद, भारत – १२ जुन २०२५
आज बिहान भारतको अहमदाबाद सहरमा भएको एक भयावह विमान दुर्घटनामा १०० भन्दा बढी यात्रुले ज्यान गुमाएका छन्। एयर इन्डियाको बोइङ ७८७-८ ‘ड्रीमलाइनर’ (उडान नम्बर AI171) लन्डनका लागि उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भयो।
विमानमा २४२ जना सवार थिए — जसमा १६९ जना भारतीय, ५३ बेलायती, ७ जना पोर्चुगलका, १ जना क्यानाडाली नागरिकसहित १२ जना चालक दल थिए। टेकअफ गरेको ५ मिनेटपछि विमानले आपतकालीन ‘मेयडे’ सन्देश पठाएको थियो। त्यसपछि विमान बीजे मेडिकल कलेज नजिकको होस्टेल क्षेत्रमा ठोक्किएको हो। दुर्घटनापछि भिषण आगलागी भयो र सहरभर धुवाँको बाक्लो मुस्लो फैलिएको थियो।
स्थानीय अस्पतालमा सयभन्दा बढी शव ल्याइसकिएको पुष्टि अधिकारीहरूले गरेका छन्। यस घटनालाई बोइङ ७८७ ड्रीमलाइनर इतिहासको सबैभन्दा गम्भीर दुर्घटनाका रूपमा लिइएको छ।
भारत र बेलायत दुबैले गहिरो दुःख व्यक्त गरेका छन्। पीडित परिवारको सहयोगका लागि विशेष हेल्पलाइन संचालनमा ल्याइएको छ। विमान दुर्घटनाको कारण पत्ता लगाउन जाँच सुरु भइसकेको छ।