बोरो धानको मूल्य ४५% ले घट्दा खेतमै उम्रन थालेको धान, किसान निराश
सुरेन्द्र मण्डल, मोरङ |
मोरङका किसानहरू बोरो (चैते) धान खेतीमा ठूलो नोक्सानीमा परेका छन्। यस वर्ष बोरो धानको मूल्यमा करिब ४५% को गिरावट आएपछि उनीहरूको लगानी डुब्ने अवस्था आएको छ।
रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, सुनवर्षी नगरपालिका लगायतका क्षेत्रमा बोरो धान खेती गर्ने किसानहरू खेतमै उम्रन थालेको धान हेरेर चिन्तित छन्। सरकारको मन्त्री परिषद्ले २०८१ साल फागुन २१ गते चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २,८६९ रुपैयाँ तोकेको भए पनि, हाल १,८०० रुपैयाँ प्रतिक्विन्टलमा मात्र बिक्री भइरहेको छ। त्यो पनि व्यापारिहरूले समयमा उठाउन नआएपछि किसानहरू खेतमै धान थन्क्याउन बाध्य छन्।
७ वर्ष यताकै सस्तो मूल्य:
किसानहरूले बताए अनुसार यो वर्षको बोरो धानको मूल्य पछिल्ला सात वर्षमा सबैभन्दा न्यून भएको हो। यसबीचमा मल, बीउ, ट्र्याक्टर, मजदुरी, कीटनाशक औषधि र हार्वेस्टिङसम्मका सबै लागतमा दोब्बरभन्दा बढी वृद्धि भएको छ। उत्पादन लागत र आम्दानी बराबरजस्तै हुँदा किसानहरूले नगद आम्दानी गर्न नसक्ने अवस्था आएको छ।
किसानहरूसँग आफ्नै हार्वेस्टिङ उपकरण नभएकाले बेलैमा धान काट्न सकिरहेका छैनन्। व्यापारिहरूले पनि मोलतोल गरेर उठाउने वेला धान नउठाई, पछि सस्तो मूल्यमा जबरजस्ती किन्ने गरेको किसानहरूको गुनासो छ। कतिपयले भने व्यापारीहरूको धोखाधडी र मौसमी प्रतिकूलताले किसानको मनोबल नै भत्किएको बताएका छन्।
एक किसानको भनाइ, “धान उमार्न ऋण काढ्यौं, अब बेच्न पनि सक्दैनौं, खेतमै कुहिन्छ। यस्तो अवस्था आएको पहिलो पटक हो।”