Subscribe Us

मधेश प्रदेशमा डिपबोरिङ जडान सुरु : खानेपानी र सिँचाइ संकट समाधानतर्फ सरकार

खडेरीले आक्रान्त मधेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा, प्रत्येक वडामा डिपबोरिङ जडानको योजना कार्यान्वयनमा

लामो समयदेखि वर्षा नहुनु, भूमिगत जल स्रोत सुक्दै जानु, र सतही जलमार्गको अभावले मधेश प्रदेशमा खडेरीको असर तीव्र बनेपछि प्रदेश सरकारले डिपबोरिङ जडान गर्ने अभियान सुरु गरेको छ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा प्रत्येक वडामा एउटा डिपबोरिङ जडान गर्ने योजना ल्याइएको हो। मन्त्रालयले खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै सिँचाइका लागि पनि योजनाबद्ध रूपमा काम अगाडि बढाएको छ।

मन्त्री शेषनारायण यादवका अनुसार, “प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रमा पानीको विकराल समस्या रहेकोले, आवश्यकता र प्राथमिकताका आधारमा डिपबोरिङ जडान थालिएको हो।”

सरकारले खडेरीबाट पीडित मधेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ भने संघीय सरकारले पनि तीन महिनाका लागि ‘संकटकालीन क्षेत्र’ घोषणा गरिसकेको छ। यस्तो अवस्थामा ट्याङ्कर र दमकलमार्फत निःशुल्क पानी वितरणको कार्यक्रमसमेत चालु छ।

योजनाअनुसार, पहिलो चरणमा धनुषाको मिथिलाविहारी नगरपालिका–२ स्थित परशुराम तलाउ क्षेत्रमा डिपबोरिङ जडान सुरु भएको हो। मन्त्री यादवले बताए अनुसार, यो कार्य भूमिगत सिँचाइ कार्यालयहरू जलेश्वर, लहान, कर्मेया (सर्लाही), र वीरगञ्जबाट अगाडि बढाइएको हो।

यी कार्यालयले मधेश प्रदेशका आठ जिल्लामध्ये दुई/दुई जिल्लामा डिपबोरिङ निर्माण गरिरहेका छन्।

त्यस्तै, संघीय सरकार मातहतको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहाले पनि अघिल्लो आर्थिक वर्षदेखि सिँचाइ र डिपबोरिङ जडान गर्दै आएको छ।
कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार, धनुषा र सिरहा कार्यक्षेत्रमा गरिएको यो कामबाट केही हदसम्म पानी अभावको समस्या समाधान भएको छ।

नगर को खबर डेस्क

Post a Comment

0 Comments