५८औं रथयात्रा भव्यताका साथ, ६० लाख लागतमा बनेको नयाँ रथ भक्तजनका लागि आकर्षण
विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा सुरु हुँदैछ। नयाँ निर्मित रथमा राधाकृष्णलाई विराजमान गराएर नगर परिक्रमा गराउने अन्तिम तयारी भइरहेको छ।
भाद्र कृष्ण नवमीका दिन हरेक वर्ष निकालिने यस धार्मिक यात्राले यस वर्ष ५८औं संस्करण मनाइरहेको छ। परम्परागत ‘खटयात्रा’सहित गणना गर्दा यो परम्परा ९५औं वर्षमा प्रवेश गरेको हो।
यो वर्षको विशेष आकर्षण भनेको ६० लाख रुपैयाँ लागतमा बनेको नयाँ रथ हो। सखुवा र सिसौँको काठमा कलात्मक बुट्टाले सजाइएको पगोडा शैलीको यो रथ २१ फिट अग्लो, १४ फिट चौडा र १९ फिट लामो छ। करिब सात हजार केजी तौल भएको रथमा अष्टनागसहित धार्मिक प्रतीक उत्कीर्ण गरिएको सिंहासनमा राधाकृष्णलाई विराजमान गराइनेछ।
रथयात्रा विराटनगर–१ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड, शेषचोक, धरानरोड, महेन्द्रचोक हुँदै वरगाछी परिक्रमा गर्नेछ। करिब ९ किलोमिटर दूरी तय हुने यात्रामा ४४ स्थानमा पूजाआजा गरिनेछ।
यस वर्ष भक्तजनलाई सहज दर्शन मिलोस् भन्ने उद्देश्यले रथलाई फराकिलो र उच्च बनाइएको आयोजकहरूले बताएका छन्। भक्तजनको सुरक्षा सुनिश्चित गर्न प्रहरीले विशेष तयारी गरेको छ।
कोशी प्रदेश सरकारले मोरङ, सुनसरी, झापा र उदयपुरमा सार्वजनिक बिदा दिएको छ।
नगर को खबर डेस्क