पृथ्वी जयन्तीमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश: देशको अस्तित्वमै संकट देखिएको चिन्ता

दुई दशक बितिसक्दा पनि स्थायित्व र समृद्धि नआएको भन्दै राष्ट्रिय सहमतिमा जोड

पृथ्वी जयन्तीमा पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं —

पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गर्नुभएको सन्देशमा देश गम्भीर संकटतर्फ उन्मुख भएको चिन्ता व्यक्त गर्नुभएको थियो।

उहाँले करिब दुई दशकअघि राजनीतिक दलहरूले शान्ति, आर्थिक समृद्धि र स्थायित्वको प्रतिबद्धता जनाउँदै सत्ताको जिम्मा लिएको स्मरण गराउँदै त्यसैको चाहनाअनुसार आफूले श्रीपेच जनतालाई सुम्पिएको उल्लेख गर्नुभएको थियो। तर, नारायणहिटी दरबार छोडेको दुई दशक बितिसक्दा पनि देशले भोगिरहेको अवस्था चिन्ताजनक बनेको उहाँको भनाइ थियो।

पूर्वराजा शाहले पहिले देश नबन्ने चिन्ता रहे पनि अहिले देश नै जोगिन नसक्ने हो कि भन्ने निराशा पैदा भएको उल्लेख गर्नुभएको थियो। नेपाल कुनै एक व्यक्तिको मात्र नभई राजा र जनताको साझा स्वामित्वको राष्ट्र भएको उहाँको धारणा थियो।

सन्देशमा सबै नेपालीले आफ्नो कर्तव्यबोध गर्दै पृथ्वीपथको अनुसरण गर्नुपर्ने उल्लेख गर्दै केवल भाषणले देश नबन्ने स्पष्ट पारिएको थियो। युवा शक्ति विदेश पलायन रोकिन नसके मुलुक असफलताको संघारमा पुग्न सक्ने चेतावनी पनि उहाँले दिनुभएको थियो।

पूर्वराजाले जनता सक्षम र सबल भए मात्र देश बलियो हुने बताउँदै युवालाई प्रयोग गर्ने तर आवश्यकता नबुझ्ने प्रवृत्तिले असन्तोष र जनधनको क्षति निम्त्याएको उल्लेख गर्नुभएको थियो। भविष्यका कर्णधार मानिने युवाहरूको ज्यान गुमेको घटनाले सबैलाई स्तब्ध बनाएको उहाँको भनाइ थियो।

उहाँले राष्ट्रिय सहमति बिना समाधान खोज्नु समयको बर्बादी हुने भन्दै सबै पक्ष मिलेर अघि बढ्न आग्रह गर्नुभएको थियो। अन्त्यमा, राजा र जनताले एकीकरण गरेर निर्माण गरेको नेपाल राष्ट्रको हितलाई केन्द्रमा राखी देशलाई पुनः सबल बनाउने अभियानमा जुट्न आह्वान गर्दै शुभेच्छा व्यक्त गर्नुभएको थियो।


Post a Comment

Previous Post Next Post