फागुन २१ गते हुने निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रमा नमुना तथा समानुपातिक मतपत्र छपाइको काम जारी छ।
२४ पुस, काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीअन्तर्गत नमुना मतपत्र छपाइको काम तीव्र रूपमा भइरहेको छ।
जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचन आयोगको समन्वयमा मतपत्र छपाइ जारी रहेको छ। केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ सुरु गरिएको हो। आयोगको योजनाअनुसार करिब १० लाख नमुना मतपत्र छपाइ गरिनेछ।
यसैगरी, समानुपातिकतर्फ करिब २ करोड ८ लाख मतपत्र छपाइ गरिने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीअन्तर्गत ६४ वटा राजनीतिक दलले बन्दसूची बुझाएका छन्। तीमध्ये १० वटा दल एकल चुनाव चिह्नमा निर्वाचन लड्दैछन्। यसकारण समानुपातिक मतपत्रमा जम्मा ५८ वटा निर्वाचन चिन्ह समावेश हुनेछन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र समयमै सम्पन्न गराउने उद्देश्यका साथ आयोगले आवश्यक तयारीलाई तीव्र बनाएको जनाएको छ।


