कोशी गाउँपालिकामा तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको हो।
१७ पुस, विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।
तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटना बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार मृतक साह सोही वडाका स्थायी बासिन्दा हुन्। गोली लागेपछि गम्भीर घाइते भएका साहको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
साहले आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीको गोली लागेको बताइएको छ। मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको स्थानीयले बताएका छन्।
घटनापछि स्थानीयवासीले शव उठाउन नदिई घटनास्थलमै प्रदर्शन गरिरहेका छन्। स्थानीयले लेनदेनको विवादका कारण गोली प्रहार गरिएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
यता सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको र त्यसक्रममा एक जनाको मृत्यु भएको दाबी गरेका छन्।
‘चोरीको सामान रहेको सवारी रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार भयो,’ उनले भने, ‘एपीएफले आत्मरक्षाका लागि जवाफी फायरिङ गरेको हो।’
हाल घटनास्थलमा प्रहरी परिचालन गरिएको छ भने कानुनी प्रक्रिया पूरा गरी मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ।
