रंगेली–५ आमगाछीमा ख्रीष्टमस तथा नयाँ वर्ष २०२६ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
रंगेली नगरपालिका वडा नं. ५ आमगाछीमा अवस्थित अनुग्रह चर्चको आयोजनामा आज ख्रीष्टमस वडादिन तथा नयाँ वर्ष २०२६को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रमको अध्यक्षता चर्चका पास्टर बैधनाथ पण्डितले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा रंगेली नगरपालिकाकी उप–प्रमुख भुमा पराजुलीको उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रमका प्रमुख वक्ता भारतको अररिया (बिहार) निवासी कुलानन्द मेहता रहनुभएको थियो।
कार्यक्रममा रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका लगायत बिहारका विभिन्न स्थानमा रहेका चर्चका पास्टरहरू, प्रभु येशूका परम भक्तजनहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षक, पत्रकारहरू सहित १५० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप–प्रमुख भुमा पराजुलीले यस कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले विगत दुई–तीन वर्षदेखि लगातार प्रमुख अतिथिका रूपमा सहभागी हुन पाउँदा आफू गौरवान्वित महसुस गरेको बताउनुभयो।
त्यस्तै प्रमुख वक्ता कुलानन्द मेहताले बाइबलमा आधारित प्रभु येशूको जन्म र उहाँका योगदानसम्बन्धी कथाहरू स्पष्ट रूपमा प्रस्तुत गर्नुभयो। कार्यक्रममा विभिन्न चर्चबाट आएका बालबालिकाहरूले वक्तव्यका बीच–बीचमा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष पास्टर बैधनाथ पण्डितले पछिल्लो समय ख्रीष्ट परिवारमाथि धर्म परिवर्तनको आरोप लाग्ने गरेकोप्रति दुःख व्यक्त गर्नुभयो। उहाँले विभिन्न स्थानमा ख्रीष्टका पास्टरहरूमाथि अपमानजनक व्यवहार, कालोमोसो दल्ने जस्ता अनैतिक र अज्ञानतापूर्ण गतिविधिहरू भइरहेको उल्लेख गर्नुभयो।
उहाँले स्पष्ट पार्दै भन्नुभयो, “हामीले कहिल्यै पनि कसैलाई धर्म परिवर्तन गराउने काम गरेका छैनौं र भविष्यमा पनि गर्ने छैनौं। हाम्रो उद्देश्य मानिसको जीवन परिवर्तन गर्नु हो। प्रभु येशूको कृपाबाट जीवन परिवर्तन हुँदा समाज पनि परिवर्तन हुन्छ।”