इस्ट जयन्तिया हिल्समा डाइनामाइट प्रयोग गर्दा विस्फोट, ३०–४० मजदुर अझै फसेको आशंका
मेघालय (भारत) —
भारतको उत्तर–पूर्वी राज्य मेघालयको इस्ट जयन्तिया हिल्स जिल्लामा रहेको एक अवैध कोइला खानीमा बिहीबार भएको विस्फोटमा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ। मृतकमध्ये नेपालका खोटाङ जिल्लाका दुई दाजु–भाइ पनि रहेको पुष्टि भएको छ।
प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको डाइनामाइटका कारण विस्फोट भएको हो। विस्फोटपछि विषाक्त ग्यास फैलिएको र सुरुङहरू भत्किएको जनाइएको छ। हालसम्म घटनास्थलबाट १८ जनाको शव निकालिएको छ भने ८ जना घाइते भएका छन्।
स्थानीयवासीका अनुसार खानीभित्र अझै ३० देखि ४० जनासम्म मजदुर फसेको हुनसक्ने आशंका गरिएको छ। उद्धार कार्य चुनौतीपूर्ण अवस्थामा जारी रहेको जनाइएको छ।
घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ। यस्तै, मेघालय राज्य सरकारले मृतकका परिवारलाई थप ३ लाख भारतीय रुपैयाँ राहत दिने जनाएको छ।
मेघालयमा ‘रेट–होल’ प्रविधिबाट कोइला खानी खन्ने कार्य सन् २०१४ देखि नै प्रतिबन्धित छ। तर उच्च ज्यालाको लोभमा धेरै मजदुरहरू ज्यान जोखिममा राखेर यस्ता अवैध खानीमा काम गरिरहेका छन्। यस्ता मजदुरहरूमा नेपाली र आसामी नागरिकहरू पनि उल्लेख्य रूपमा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय अधिकारीहरूले जनाएका छन्।
