वसन्त ऋतुको आगमनसँगै प्रकृतिको काखमा नयाँ पालुवा पलाउन थाल्छन्। चराचुरुङ्गीको चिरबिर आवाज र न्यानो घामको स्पर्शसँगै नेपालीहरूको घर-आँगनमा एउटा यस्तो उत्सव भित्रिन्छ, जसले जात, धर्म र वर्णको घेरा तोडेर सबैलाई एउटै रङमा रङ्ग्याउँछ। त्यो पर्व हो— होली, अर्थात् फागु पूर्णिमा।
नेपालका पहाडी भेगमा फाल्गुण शुक्ल पूर्णिमाका दिन र तराई क्षेत्रमा त्यसको भोलिपल्ट मनाइने यो पर्व केवल रङ खेल्ने दिन मात्र होइन; यो त खराब शक्तिमाथि दैवी शक्तिको जित, आपसी सद्भाव र मित्रताको प्रतीक पनि हो।
प्राचीन समयमा हिरण्यकशिपु नामका अहंकारले भरिएका दानव राजा थिए, जसले आफूलाई भगवान् घोषणा गरी राज्यभर आफ्नै पूजा गर्न आदेश दिएका थिए। तर उनका छोरा प्रह्लाद भने साक्षात भगवान् विष्णुका परम भक्त थिए। आफ्नै सन्तानले आफ्नो आज्ञा उल्लंघन गरेको र अर्कै शक्तिको प्रार्थना गरेको सहन नसकी हिरण्यकशिपुले प्रह्लादलाई मार्न अनेकौँ षड्यन्त्र रचे। यसै क्रममा उनले आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई आगोमा जलाएर मार्न अह्राए। होलिकालाई आगोले नजलाउने दैवी वरदान प्राप्त थियो, तर जब उनी प्रह्लादलाई काखमा लिएर दन्किरहेको अग्निकुण्डमा बसिन्, तब चमत्कार भयो। प्रह्लादको अटुट भक्ति र सत्यको शक्तिका कारण उनी आगोबाट सकुशल बचे भने वरदानको दुरुपयोग गरेकाले होलिका सोही आगोमा भष्म भइन्। यही खुसीयालीमा मानिसहरूले रङ खेलेर उत्सव मनाउन थालेका हुन्, जसलाई आज हामी होलीका रूपमा चिन्नछौँ।
नेपालमा होली मनाउने शैली भौगोलिक र सांस्कृतिक विविधताअनुसार फरक-फरक तर निकै रोचक छ। काठमाडौँ उपत्यका र पहाडी भेगमा होलीको औपचारिक सुरुवात हनुमानढोका दरबारमा 'चीर' ठड्याएपछि हुन्छ। बाँसको लिङ्गोमा रङ्गीचङ्गी कपडाका टुक्राहरू (जुरा) बाँधेर ठड्याइने यो चीरले वसन्त ऋतुको आगमन र पर्वको उत्साहलाई संकेत गर्छ। पूर्णिमाको दिन मानिसहरू टोल-टोलमा भेला भएर एक-अर्कालाई अबिर र रङ दल्छन्। विशेष गरी सेतो लुगा लगाएर रङमा रङ्गिने परम्पराले सबैलाई एउटै स्वरूपमा ल्याउँछ, जहाँ धनी-गरिब वा जातजातिको कुनै पर्खाल रहँदैन। पहाडमा पूर्णिमाकै दिन मुख्य होली खेलिन्छ भने तराई वा मधेस क्षेत्रमा त्यसको भोलिपल्ट मात्र रङको विशेष उत्सव मनाइने गरिन्छ।
तराई क्षेत्रको होली अर्थात् 'फागुवा' अझ बढी साङ्गीतिक र सामूहिक हुन्छ। यहाँको होलीमा ढोल, मृदङ्ग र झ्यालीको तालमा गाइने 'होरी' गीतहरूले वातावरणलाई उत्सवमय बनाउँछन्। छिमेकीहरू एक-अर्काको घरमा गएर रङ दल्ने, मालपुवा र अन्य परम्परागत परिकारहरू खाने र खुसी साटासाट गर्ने चलन छ। मिथिलाञ्चलमा त होलीलाई प्रेम र सद्भावको महाकुम्भ मानिन्छ। कतिपय ठाउँमा हिलो र माटो खेलेर धर्तीप्रतिको सम्मान प्रकट गर्ने मौलिक परम्परा पनि अझै जीवितै छ। यसरी तराई र पहाड दुवैतिर यो पर्वले राष्ट्रिय एकताको सूत्रमा सबै नेपालीलाई बाँध्ने काम गर्दछ।
समयको अन्तरालसँगै होली मनाउने शैलीमा आधुनिकता पनि थपिएको छ। अचेल सहरका चोक र खुल्ला ठाउँहरूमा ठुला-ठुला कन्सर्ट र साङ्गीतिक कार्यक्रमहरू आयोजना गरिन्छन्, जहाँ युवापुस्ता झुम्मिएर रमाइलो गर्छन्। तर, यसको मौलिकता जोगाउनु पनि उत्तिकै आवश्यक छ। पछिल्लो समयमा रासायनिक रङहरूको बढ्दो प्रयोगले स्वास्थ्यमा समस्या निम्त्याउने गरेकाले धेरै मानिसहरू प्राकृतिक अबिर र हर्बल रङतर्फ आकर्षित हुन थालेका छन्। त्यस्तै, कसैको इच्छाविना जबरजस्ती रङ वा लोला हान्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै सभ्य तरिकाले होली मनाउने चेतना पनि समाजमा बढ्दै गएको छ। रमाइलोका नाममा गरिने विकृतिलाई त्यागेर सद्भावका साथ मनाइने होलीले नै हाम्रो संस्कृतिको गरिमा बढाउँछ।
अन्ततः होली केवल रङहरूको मात्र पर्व नभई यो त मानवीय संवेदना र आपसी सम्बन्धलाई नवीकरण गर्ने अवसर पनि हो। वर्षभरिका रिस, राग र वैमनस्यतालाई बिर्सिएर एक-अर्कालाई अँगालो हाल्ने र खुसी साट्ने यो दिनले समाजमा शान्ति र एकताको सन्देश प्रवाह गर्छ। जसरी विभिन्न रङहरू मिलेर एउटा सुन्दर इन्द्रेणी बन्छ, त्यसरी नै विभिन्न जातजाति र भाषाभाषीका नेपालीहरू होलीको रङमा मिसिएर एउटै पहिचानमा देखिन्छन्। वसन्तको यो उल्लासले सबैको जीवनमा नयाँ ऊर्जा र उमङ्ग थपोस् भन्ने कामना नै होलीको वास्तविक सार हो।
