देशभर एकसाथ सुरु भयो एसईई परीक्षा, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा, एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी

Image:2081 see batch 
See 2083

नेपालभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि एकसाथ सुरु भएको छ। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा देशभरका साथै विदेशस्थित परीक्षा केन्द्रहरूबाट समेत गरी पाँच लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन्। यसपटक परीक्षा व्यवस्थापनलाई विगतभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र परिणाममुखी बनाउन विशेष योजना लागू गरिएको बोर्डले जनाएको छ।
यस वर्षदेखि उत्तरपुस्तिका परीक्षण प्रणालीमा महत्वपूर्ण परिवर्तन गरिएको छ। अब उत्तरपुस्तिकाहरू पहिले जस्तो एक प्रदेशबाट अर्को प्रदेश पठाएर परीक्षण गर्ने व्यवस्था हटाइएको छ। यसको सट्टा, परीक्षा भएको क्षेत्रभित्रै मूल्याङ्कन केन्द्र स्थापना गरी सोही स्थानमा परीक्षण गरिनेछ।
सरकारले विद्यार्थीहरूको समय र भविष्यलाई ध्यानमा राख्दै परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मिता पोखरेलको निर्देशनअनुसार मूल्याङ्कन प्रणालीलाई छरितो र प्रभावकारी बनाउने प्रयास गरिएको हो।
एसईई परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा छिटो प्रकाशन गर्नु मुख्य प्राथमिकता हो। जिल्लास्तर वा क्षेत्रीय स्तरमै मूल्याङ्कन केन्द्र स्थापना गरिएकाले उत्तरपुस्तिका ढुवानीमा लाग्ने समय बचत हुने र स्थानीय शिक्षकहरूको प्रत्यक्ष सहभागिताले काम अझ तीव्र हुने अपेक्षा गरिएको छ।
उत्तरपुस्तिका परीक्षणमा निष्पक्षता र सुरक्षाका विषयमा उठ्न सक्ने चिन्तालाई पनि बोर्डले सम्बोधन गरेको जनाएको छ। यदि कुनै केन्द्रमा विषयगत शिक्षक उपलब्ध नभएमा वा सुरक्षा दृष्टिले संवेदनशील देखिएमा त्यस्ता उत्तरपुस्तिका सुरक्षित स्थानमा सारेर परीक्षण गरिने व्यवस्था मिलाइएको छ।
यसपटकको नयाँ व्यवस्थाले परीक्षा प्रणालीलाई छिटो, पारदर्शी र विश्वसनीय बनाउने विश्वास बोर्डले व्यक्त गरेको छ।

Post a Comment

Previous Post Next Post