रंगेलीमा इसाई समाजको पहिलो ऐतिहासिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

मोरङभरिका प्रतिनिधिको सहभागिता, १३ सदस्यीय नयाँ कार्यसमिति गठन

Image: Surendra Mandal
rangeli-christian-society-first-general-assembly-new-leadership

मोरङ जिल्लाको रंगेली नगरपालिकाको सभाहलमा इसाई समाज रंगेलीको पहिलो ऐतिहासिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा जिल्लाभरिका इसाई समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभाको अध्यक्षता पास्टर सुधिर कुमार मण्डलले गर्नुभएको थियो भने प्रमुख अतिथि रंगेली नगरपालिकाका कार्यवाहक मेयर भुमा पराजुली रहनुभएको थियो। प्रमुख वक्ताका रूपमा जिल्ला इसाई समाज मोरङका अध्यक्ष पास्टर नवीन राईले सम्बोधन गर्नुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिहरूमा लुथरन चर्च लक्ष्मीपुरका विशप जोसेफ सोरेन, विराटनगर इसाई समाजका अध्यक्ष पास्टर जित नारायण चौधरी तथा कानेपोखरी इसाई समाजका अध्यक्ष पास्टर कमल कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अनुग्रह चर्च आमगाछीका पास्टर दानियल पण्डितले गर्नुभएको थियो।

rangeli-christian-society-first-general-assembly-new-leadership

कार्यक्रममा स्वागत मन्तव्य डुनामिस चर्च आमतोला की पास्टरनी आमा ग्यानु कुमारी कटेलले राख्नुभएको थियो भने आयव्यय विवरण कलवरी च्यापल चर्च रंगेलीका पास्टर मझिया बेसराले प्रस्तुत गर्नुभएको थियो।

सभामा समाजको वर्तमान अवस्था, आगामी योजना, संगठन विस्तार तथा धार्मिक एकता र सहकार्यका विषयमा व्यापक छलफल गरिएको थियो। वक्ताहरूले इसाई समाज रंगेली अल्पसंख्यक समुदाय भएकाले विभिन्न चुनौती र बाधाहरू सामना गर्नुपरेको उल्लेख गर्दै विगतदेखि कानुनी मान्यता नपाउँदा विभिन्न वडास्तरका कार्यक्रमहरू सञ्चालनमा कठिनाइ भएको बताएका थिए। हाल सबै प्रक्रिया पूरा गरी कानुनी मान्यता प्राप्त गर्नु इसाई समाजका लागि महत्वपूर्ण उपलब्धि भएको बताइएको छ।

उद्घोषक पास्टर ड्यानियल पण्डितले अबका दिनहरूमा समुदायले एकताबद्ध भएर सबै प्रकारका बाधा र विरोधलाई सामना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि कार्यवाहक मेयर भुमा पराजुलीले नेपाल विभिन्न जात, धर्म र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै देश धर्मनिरपेक्ष भएकाले सबै समुदायलाई समान अधिकार रहेको बताउनुभयो। उहाँले इसाई समुदायले आफ्नो पहिचान स्थापित गर्दै कानुनी प्रक्रिया पूरा गरेकोमा खुशी व्यक्त गर्दै नव-निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिनुभयो।

rangeli-christian-society-first-general-assembly-new-leadership

कार्यक्रमबाट इसाई समाज रंगेलीको १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नव-निर्वाचित समितिमा अध्यक्षमा सुधिर कुमार मण्डल, उपाध्यक्षमा जशेप बिस्कु, सचिवमा मझिया बेसरा, सह–सचिवमा मनोज मुर्मु र कोषाध्यक्षमा एलिया हेमरम चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा ज्ञानकुमारी कटेल, कायम कर्मकार, श्रावण कुमार ताजपुरिया, राम प्रसाद ताजपुरिया, शान्ति कामी, रेखा मण्डल, राजेन्द्र मण्डल र मुना थापा रहेका छन्।

Post a Comment

Previous Post Next Post