रास्वपा रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न, हरिन्द्र बराल पुनः सभापतिमा विजयी
रंगेली । २ जेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन रंगेली काे तिरुपति बालाजी मन्दिर काे सभाहलमा सम्पन्न भएको छ । अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा हरिन्द्र बराल पुनः नगर सभापतिमा विजयी भएका छन् ।
कुल १ सय ३१ मतमध्ये १ सय १७ मत खसेको निर्वाचनमा बरालले ८९ मत प्राप्त गर्दै आफ्ना दुई प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सुरज कुमार यादवले २७ मत प्राप्त गरेका थिए ।
रास्वपाको रंगेली नगर समितिमा बरालको यो लगातार तेस्रो नेतृत्व यात्रा हो । पार्टी स्थापना तथा संगठन विस्तारको प्रारम्भिक चरणमा संविधानसभा निर्वाचनको प्रचार–प्रसार र युनिटी विस्तारका लागि उनी मनोनित नगर सदस्यका रूपमा सक्रिय रहेका थिए । त्यसपछि वैशाख २६ गते गठित १ महिने तदर्थ समितिमा उनी दोस्रो पटक नगर सभापतिमा निर्विरोध चयन भएका थिए ।
त्यसैको निरन्तरतास्वरूप आज सम्पन्न प्रथम ऐतिहासिक नगर अधिवेशनमा समेत उनले पुनः भारी मतसहित विजय हासिल गर्दै रंगेली नगरपालिकाको सभापतिको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन् ।
त्यस्तै, उपसभापति पदमा वसन्त कुमार मण्डल पुनः विजयी भएका छन् । वैशाख २६ गतेको तदर्थ समितिमा पनि मतदान प्रक्रियाबाट विजयी बनेका मण्डलले यसपटकको ऐतिहासिक अधिवेशनमा समेत आफ्ना दुई प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपसभापतिको पद सुरक्षित गरेका हुन् ।
निर्वाचन परिणामअनुसार सचिव पदमा देवीप्रसाद मैनाली ६७ मतसहित विजयी भएका छन् भने सहसचिव पदमा मनतोष कुमार साह ५६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
सदस्यतर्फ निजामुदिन, गोविन्द झा, अनिल कुमार राई, प्रकाशचन्द्र भट्टराई तथा हेमबहादुर काफ्ले विजयी भएका छन् । महिला सदस्यतर्फ कोपिला रेग्मी, पुनम कुमारी मण्डल, दीक्षा शाह र इन्द्रापुरी निर्विरोध चयन भएका छन् ।
रास्वपाले देशभर संगठन विस्तार तथा पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाइरहेका बेला रंगेली नगरपालिकामा सम्पन्न यो अधिवेशनलाई पार्टीको स्थानीय संगठन सुदृढीकरणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
