एसईई नतिजामा सरकारको छलाङ : एक महिनामै नतिजा सार्वजनिक हुने

उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले नतिजा छिटो आउने, विद्यार्थी र अभिभावक उत्साहित

Image:khabarhub
See2082

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। अघिल्ला वर्षहरूमा नतिजा सार्वजनिक गर्न तीन महिनासम्म लाग्ने गरे पनि यसपटक समयमै नतिजा ल्याउने तयारी भएपछि विद्यार्थी, शिक्षक र अभिभावक उत्साहित भएका छन्।

बोर्डका अनुसार अहिले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ। इन्ट्रीको काम सकिएको र त्रुटि नहोस् भनेर रुजु गर्ने प्रक्रिया जारी रहेको जनाइएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार सूचना प्रविधि सम्बन्धी काम सम्पन्न भएपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिनेछ।
यस वर्ष ‘जहाँ परीक्षा, त्यहीँ उत्तरपुस्तिका परीक्षण’ नीति अपनाइएकाले नतिजा छिटो निकाल्न सम्भव भएको बोर्डको भनाइ छ। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुँदा समय बचत भएको र शिक्षकहरूको राम्रो सहयोग प्राप्त भएको अधिकारीहरूले बताएका छन्।

सरकारले विद्यार्थीलाई लामो समयसम्म नतिजा कुराउँदा हुने मानसिक तनाव कम गर्न पनि छिटो नतिजा प्रकाशनको नीति लिएको जनाएको छ। शिक्षा मन्त्री सस्मित पोखरेल ले विद्यार्थीलाई अनावश्यक दबाबबाट मुक्त गर्न एसईईपछि सञ्चालन हुने ब्रिज कोर्ससमेत रोकिएको बताएका छन्।
शिक्षक तथा विद्यालय सञ्चालकहरू पनि समयमै नतिजा आउने निर्णयलाई सकारात्मक मानिरहेका छन्। सुदाम गौतम ले नतिजा र कक्षा सञ्चालन दुवै समयमै भए शिक्षामा राम्रो सन्देश जाने बताएका छन्।

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए।
बोर्डले नतिजा एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।

See 2082

Post a Comment

Previous Post Next Post