राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनका क्रममा हिंसा भड्किनुमा आयोजक पक्षको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस
काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा राष्ट्रिय मानव अधिकार आयोगले ‘नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंविरुद्ध कडा निष्कर्ष निकालेको छ। आयोगले गरेको छानबिनबाट प्रसाईंको उक्साहट र भड्काउ अभिव्यक्तिकै कारण उक्त दिनको प्रदर्शन हिंसात्मक बनेको ठहर गरिएको छ।
आयोगको प्रतिवेदन अनुसार, प्रसाईंले शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर पछि सुरक्षा घेरा तोड्दै ‘संसद् भवन जलाउनुपर्छ’ जस्ता उत्तेजक नारा र भाषण दिएका थिए। यही भड्काउ अभिव्यक्तिका कारण अनियन्त्रित बनेको भीडले ब्यारिकेड तोडफोड गर्दै निजी, सार्वजनिक संरचना र मिडिया हाउसहरूलाई निशाना बनाएको थियो।
सोही हिंसात्मक झडपका क्रममा जडीबुटीस्थित ‘सञ्चो’ कम्पनी, कोटेश्वरको भाटभटेनी, विभिन्न सहकारी तथा पार्टी कार्यालयहरूमा ठूलो क्षति पुगेको थियो भने आन्दोलनकारीले लगाएको आगोमा परेर एभिन्यूज टेलिभिजनका क्यामेराम्यान सुरेश रजकको ज्यान गएको थियो। यहाँसम्म कि आगो निभाउन गएको दमकललाई समेत अवरोध गरिएको र आयोगकै स्थलगत अनुगमन टोलीमाथि समेत आक्रमण भएको प्रतिवेदनमा उल्लेख छ।
घटनापछि पनि प्रसाईंलाई तत्काल नियन्त्रणमा लिएर हिरासतमा नराखिनु सुरक्षा निकायको कमजोरी रहेको औंल्याउँदै आयोगले प्रदर्शनपूर्व, प्रदर्शनका क्रममा र त्यसपछि पनि हिंसा भड्काउन मुख्य भूमिका खेलेकाले समग्र मानवीय तथा भौतिक क्षतिको सम्पूर्ण जिम्मेवारी आयोजक र नेतृत्वकर्ताका रूपमा प्रसाईंले नै लिनुपर्ने स्पष्ट पारेको छ।
साथै, आयोगले संविधानको धारा २४९ (२) (क) बमोजिम प्रसाईंसहितका नेतृत्वकर्तामाथि गहिरो अनुसन्धान गरी तत्काल कानुनी कारबाही अगाडि बढाउन सरकारलाई सिफारिस गरेको छ।
