रंगेलीमा रास्वपा नेता अमरेशकुमार सिंहसँग चिया गफ, जनजीविकादेखि विकास र निर्वाचनसम्म छलफल

रंगेलीमा रास्वपा नेता अमरेशकुमार सिंहसँग चिया गफ, जनजीविकादेखि विकास र निर्वाचनसम्म छलफल

रंगेली, असोज १६ गते ।

सुरेन्द्र मण्डल 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश नेता तथा माननीय सांसद डा. अमरेशकुमार सिंहले मोरङको रंगेलीमा रास्वपाका स्थानीय कार्यकर्तासँग भेटघाट तथा चिया गफ गरेका छन्।

रंगेली बजारस्थित एक फुड कर्नरमा भएको अनौपचारिक भेटघाटमा स्थानीय कार्यकर्तासँग परिचय आदान–प्रदानसँगै देशको वर्तमान राजनीतिक अवस्था, रास्वपाले अघि सारेको परिवर्तनको एजेन्डा, स्थानीय समस्याहरू तथा आगामी निर्वाचनमा पार्टी कार्यकर्ताको भूमिकाबारे छलफल भएको थियो।

भेटघाटमा कोशी प्रदेश सदस्य सम्झना पण्डित, महाधिवेशन प्रतिनिधि बजरंग अग्रवाल, जिल्ला प्रतिनिधि परमेश्वर शाह, मोरङ क्षेत्र नं. ५ का उपसभापति सुरेन्द्र मण्डल, पूर्व क्षेत्र सभापति संकल्प अग्रवाल, रंगेली नगर उपसभापति वसन्त मण्डल, सचिव देवीप्रसाद मैनालीलगायत वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।

तीनै तहमा बहुमत आवश्यक : सिंह

कार्यकर्तालाई सम्बोधन गर्दै सांसद सिंहले केन्द्रमा मात्र पूर्ण बहुमत प्राप्त गरेर आफूहरूले चाहेको परिवर्तन सम्भव नहुने धारणा व्यक्त गरे। स्थानीय तह र प्रदेशमा समेत रास्वपाले पूर्ण बहुमत प्राप्त गर्नुपर्नेमा उनले जोड दिए।

सिंहले भने ,"हामी नेपालमा परिवर्तन गर्न चाहन्छौँ भने केन्द्रमा मात्र हाम्रो पूर्ण बहुमत भएर पुग्दैन। जबसम्म स्थानीय तह र प्रदेशमा पनि पूर्ण बहुमत ल्याउन सक्दैनौँ, तबसम्म हामीले चाहेअनुसार देश परिवर्तन गर्न सक्दैनौँ।”

उनका अनुसार पार्टी अल्पमतमा रहेमा आफूहरूले अघि सारेका योजनाहरू कार्यान्वयन गर्न कठिन हुने बताए। भ्रष्टाचार निर्मूल गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने, अस्पतालको व्यवस्थापन तथा आवश्यकताअनुसार पहल गर्ने, बाटोघाटो निर्माण र युवालाई रोजगारी सिर्जना गर्ने विषयमा रास्वपा अघि बढिरहेको उनले बताए।

यस्ता लक्ष्य कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तह तीनै तहमा रास्वपाको बलियो उपस्थिति आवश्यक रहेको सिंहको भनाइ थियो।

आगामी मंसिरमा हुने निर्वाचनलाई लक्षित गर्दै उनले पार्टीका कार्यकर्ताहरू जनताको घरदैलोमा पुगेर जनताको समस्या, आवश्यकता र अवस्थाबारे जानकारी लिनुपर्ने तथा सकेसम्म सहयोग गर्नुपर्नेमा जोड दिए।

जनजीका समस्या उठाउँदै कार्यकर्ताको प्रश्न

भेटघाटका क्रममा स्थानीय कार्यकर्ताहरूले रंगेली क्षेत्रका विभिन्न समस्या तथा जनजीविकासँग जोडिएका विषयहरू सांसद सिंहसमक्ष राखेका थिए।

कार्यकर्ता रमेश मण्डलले जेन्जी आन्दोलनसँग जोडिएका युवाहरूको समस्याको विषय उठाउँदै अहिलेको सरकारको मुख्य नाइके जेन्जी आन्दोलन नै भएको भए पनि धेरै जेन्जी युवाहरू अहिले कानुनी प्रक्रियामा रहेको र अदालतको तारिख धाइरहेको अवस्था रहेको बताए। त्यस्ता युवाहरूको समस्याका विषयमा सरकारले पहल गर्नुपर्ने उनको माग थियो।

त्यस्तै, कार्यकर्ता सुरज यादवले रंगेली–विराटनगर जोड्ने करिब ६ किलोमिटर हुलाकी सडकको अवस्थाबारे ध्यानाकर्षण गराउँदै सडकको अवस्था अवलोकन तथा सुधारका लागि सांसद सिंहमार्फत पहल हुनुपर्ने माग गरे।

कार्यकर्ताहरूले रंगेलीको चोराहाबाट छोटी भन्सार सञ्चालन तथा स्तरोन्नतिका लागि आवश्यक पहल गर्नुपर्ने विषयसमेत उठाएका थिए। स्थानीय व्यापार तथा आवागमनसँग जोडिएको उक्त विषयमा सम्बन्धित निकायको ध्यान जानुपर्ने उनीहरूको भनाइ थियो।

सामुदायिक अस्पतालको सेवाबारे पनि प्रश्न

भेटघाटमा रंगेली सामुदायिक अस्पतालको सेवा तथा व्यवस्थापनबारे पनि कार्यकर्ताहरूले गुनासो राखेका थिए। अस्पतालमा ठूलो अनियमितता रहेको दाबी गर्दै त्यस विषयमा छानबिन तथा आवश्यक सुधारको पहल गर्नुपर्ने माग गरिएको थियो।

कार्यकर्ताहरूले अन्य स्थानमा विश्व स्वास्थ्य संगठन (WHO) लगायतका मापदण्डअनुसार केही रोगसम्बन्धी परीक्षण निःशुल्क वा सहुलियतमा हुने गरेको भए पनि रंगेलीमा भने विभिन्न परीक्षणका लागि शुल्क तिर्नुपर्ने अवस्था रहेको गुनासो गरेका थिए। यस विषयमा सम्बन्धित निकायसँग समन्वय गरी सर्वसाधारणलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नुपर्ने माग उनीहरूले राखेका थिए।

सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या

त्यस्तै, एक कार्यकर्ताले सामुदायिक विद्यालयमा पर्याप्त शिक्षक तथा गुणस्तरीय शिक्षाको अभावका कारण अभिभावकहरू आफ्ना बालबालिकालाई बाध्य भएर निजी विद्यालयमा पठाउनुपर्ने अवस्था रहेको बताए।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, आवश्यक शिक्षकको व्यवस्था तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने विषयमा सांसद सिंहले सम्बन्धित तहमा पहल गर्नुपर्ने आवश्यकता कार्यकर्ताले औँल्याए।

भेटघाटमा उठाइएका यी स्थानीय समस्या तथा जनताका गुनासालाई सम्बन्धित निकायसम्म पुर्‍याउने र आवश्यक पहल गर्ने विषयमा छलफल भएको थियो।

समग्रमा, रास्वपा ने

ता सिंहसँगको भेटघाटमा आगामी निर्वाचनको रणनीति र पार्टी संगठन विस्तारसँगै रंगेली क्षेत्रका सडक, भन्सार, स्वास्थ्य, शिक्षा तथा युवासँग सम्बन्धित समस्याका विषयमा कार्यकर्ताहरूले आफ्ना धारणा र सुझाव राखेका थिए।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार