ग्यास सिलिन्डर विस्फोटबाट होटल पूर्णरूपमा नष्ट, छेउको पक्की घरमा पनि क्षति
दमक, झापा जिल्लाको दमक नगरपालिका–६ मा सञ्चालित सेवारो होटलमा आइतबार दिउँसो ग्यास सिलिन्डर विस्फोटपछि भएको आगलागीमा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
दिलमाया लावतीले सुरेश कुमार थापाको खाली जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको सो होटलमा खाना पकाउने क्रममा ग्यास चुहावट भई सिलिन्डर पड्किएको जनाइएको छ। टिनको छानो र पातलो टिनले बेरिएको कच्ची घरमा सञ्चालित होटलमा भएको आगलागीले मानविय वा चौपाया क्षति नभए पनि सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएका छन्।
आगलागीमा तीन थान फ्रिज, आठ थान ग्यास सिलिन्डर, दुई थान इनभर्टर, खाद्यान्न, लत्ता कपडा लगायतका सामग्री पूर्णरूपमा नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार १३ लाख रुपैयाँ बराबरको क्षति भएको हो।
यस्तै, सोही स्थानमा रहेको ज्ञानु रिजालको पक्की दुईतले घर पनि आगोबाट प्रभावित भएको छ। घरको सात वटा झ्यालको सिसा फुट्नुका साथै भित्रको कपडा जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको जनाइएको छ।
दमक नगरपालिका, उर्लाबारी नगरपालिका र कमल गाउँपालिकाका दमकल, इलाका प्रहरी कार्यालय दमकका १५ जना प्रहरी, सशस्त्र प्रहरी बल रिजर्भ गण लखनपुरका २५ जना टोली प्रमुख माधव खत्रीको कमाण्डमा, र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो।
यो घटनाले ग्यास प्रयोगका क्रममा सावधानी अपनाउन आवश्यक रहेको सन्देश दिएको छ। स्थानीय प्रशासनले घटनाको थप अनुसन्धान गरिरहेको छ।