सप्तरीको विष्णुपुरमा मिलेमतोमा बढी भुक्तानी लिएको प्रकरण छिपाउन रातारात सडक ढलान

अख्तियारले कागजात मागेपछि डरले राति नै सडक ढलान, भारतीय भूमिमा अनियमित खर्चको खुलासा

सप्तरीको विष्णुपुर गाउँपालिकामा मिलेमतोमा भएको अनियमितता ढाकछोप गर्न शनिबार राति हतारमा सडक ढलान गरिएको छ।

तराई मधेश समृद्धि, बस्ती विकास कार्यक्रम’ अन्तर्गत संघीय सरकारको ५५ लाख रुपैयाँभन्दा बढी अनुदान खर्च गरेर विष्णुपुर–६ अन्तर्गत भारतीय भूमिमा पर्ने ‘कोशी कोलोनी’ मा गाउँपालिकाका कर्मचारी र उपभोक्ता समितिले मिलेर कामभन्दा बढी रकम भुक्तानी लिएको खुलेको छ।

यस विषयमा ‘कान्तिपुर’ दैनिकले समाचार प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको हो। अख्तियारले गाउँपालिकासँग योजनाका सम्पूर्ण कागजात मागेपछि फस्ने डरले शनिबार राति नै ढलान कार्य गराइएको हो।

वडाध्यक्ष परमानन्द यादव का अनुसार शिलालेखसमेत हटाएर जबरजस्ती निर्माण गरिएको छ। उनले भने, “कोलोनी भारतको अधीनमा पर्छ, कानुन अनुसार त्यहाँ काम गर्न मिल्दैन। तर, कर्मचारी र समितिको मिलेमतोमा कम काम गरेर बढी भुक्तानी लिइएको हो।”

वडाध्यक्ष यादवले ढलान रोक्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायत सबै सरोकारवालासँग सहयोग मागे पनि कुनै सुनुवाइ नभएको बताएका छन्। उनले निर्माण रोक्न खोज्दा पनि मध्यरातमा जबरजस्ती काम अगाडि बढाइएको र त्यसको भिडियो समेत अख्तियारमा पठाइसकेको जानकारी दिएका छन्।

यस प्रकरणले विकासका नाममा भइरहेको कानुनविपरीतको खर्च र अनियमितताप्रति गम्भीर प्रश्न उठाएको छ। हाल अख्तियारले घटनाको विस्तृत छानबिन थालेको जनाइएको छ।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad