१९४ दिनपछि काठमाडौं महानगरको कार्यपालिका बैठक बस्दै, असार मसान्तभित्र बजेट पासको तयारी

कानुनी बाध्यताले कार्यपालिका बैठक बोलाउन बाध्य मेयर बालेन, शुक्रबार दिउँसो २ बजे बैठक तय

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ। लामो समयपछि बस्न लागेको बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम र बजेट पेस गर्ने तयारी गरेको छ।

महानगरको कार्यपालिका बैठक पछिल्लो पटक पुस १४ गते बसेको थियो। त्यसयता लगातार बैठक नबसेको शुक्रबार नै १९४ दिन पुग्दैछ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तभित्र बजेट पारित हुनुपर्ने कानुनी बाध्यता भएकाले अन्ततः मेयर बालेन शाह बैठक बोलाउन बाध्य भएका हुन्।

यसअघि गत जेठ १२ गते महानगरका ४१ जनप्रतिनिधिले मेयर शाहलाई बैठक बोलाउन लिखित आग्रह गरेका थिए। त्यसपछि जेठ १४ गते १५० भन्दा बढी नगरसभा सदस्यहरूको अनौपचारिक भेलाबाट समेत कार्यपालिका बैठकको दबाब थपिएको थियो।

महानगर स्रोतका अनुसार शुक्रबार बिहान ११ बजे नीति तथा बजेट सम्बन्धी दुई समिति — मेयर बालेनको संयोजकत्वमा अनुमान तथा बजेट निर्धारण समिति र उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ। त्यसपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ जसले नीति तथा कार्यक्रम पारित गर्दै नगरसभाको मिति तोक्नेछ।

बैठक नभए असार मसान्तसम्म बजेट पारित नहुँदा ‘बजेट होली डे’ हुने खतरा रहेकाले अब कानुनी प्रक्रिया तीव्र पारिएको जनप्रतिनिधिहरू बताउँछन्।

यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको मतभेदका कारण मेयर बालेनले बैठक रोक्दै आएका थिए। हाल गुरागाईलाई हटाउन नसकिने भएपछि उनी रहेकै अवस्थामा बैठक बोलाउनुपर्ने अवस्था आएको हो।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad