भाद्र १ गते हुने रथयात्रामा करिब पाँच लाख श्रद्धालुको सहभागिता, ९ किलोमिटर लामो मार्गमा ४४ स्थानमा विश्राम
विराटनगर, — विराटनगरको पानीट्यांकीस्थित ऐतिहासिक श्री राधाकृष्ण मन्दिरबाट यस वर्षको भव्य रथयात्रा भाद्र १ गते आयोजना हुने भएको छ। मन्दिर कार्य समितिका अनुसार यो रथयात्रा जगन्नाथपुरीपछिको एशियाकै दोस्रो ठूलो धार्मिक रथयात्रा हो, जसमा नेपाल र भारतका विभिन्न स्थानबाट करिब पाँच लाख श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ।
वि.सं. १९८८ मा स्थापित श्री राधाकृष्ण मन्दिरले स्थापना कालदेखि नै झूलन पर्व, कृष्ण जन्माष्टमी, रथयात्रा लगायतका प्रमुख धार्मिक पर्वहरू मनाउँदै आएको छ। वि.सं. २०२५ बाट सुरु भएको भव्य रथयात्रा परम्परा यस वर्ष ९४ औँ संस्करणमा प्रवेश गर्दैछ।
यस वर्षको रथ पेगोडा शैलीमा निर्माण भइरहेको छ, जसको उचाइ २१ फिट ३ इन्च, चौडाइ १४ फिट र लम्बाइ १९ फिट हुनेछ। रथलाई दायाँपट्टि पुरुष र बायाँपट्टि महिला भक्तजनले १६५–१६५ फिट लामो डोरी तानी अघि बढाउने परम्परा कायम रहनेछ।
रथयात्रा मन्दिरबाट सुरु भई मेनरोड, ट्राफिक चौक, महेन्द्र चौक, बरगाछी, दुर्गा चौक हुँदै पुनः मन्दिरमै फर्किनेछ। ९ किलोमिटरको दूरी पार गर्न रथले ४४ स्थानमा विश्राम लिनेछ र सम्पूर्ण यात्रा करिब ६ घण्टामा सम्पन्न हुनेछ।
कार्यक्रम सफल बनाउन मन्दिर कार्य समितिले १००१ सदस्यीय मूल समिति र १६ वटा उपसमिति गठन गरेको छ। यातायात, सुरक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीय व्यवस्थापनदेखि प्रचार–प्रसारसम्मका तयारी तीव्र गतिमा भइरहेको छ।
कोशी प्रदेश सरकार, जिल्ला प्रशासन, प्रहरी, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी संस्थान तथा विभिन्न संघसंस्थाको सहयोगमा रथयात्राको व्यवस्थापन गरिँदैछ। विशेष सुरक्षा व्यवस्था, आपत्कालीन स्वास्थ्य टोली, दमकल, ट्राफिक व्यवस्थापन र सार्वजनिक सरसफाइको समेत विशेष ख्याल राखिएको छ।
रथयात्रा अघिल्लो दिन अर्थात् कृष्ण जन्माष्टमीमा मन्दिर परिसरमा धार्मिक सभा, सांस्कृतिक कार्यक्रम र सम्मान समारोह गरिनेछ। यस अवसरमा “पोखरमल राठी धर्म संस्कृति पुरस्कार” यस वर्ष परमार्थ सिंघिया आरती सेवा समितिलाई प्रदान गरिनेछ।
समितिले सम्पूर्ण नगरवासी, श्रद्धालु तथा पर्यटकलाई यस ऐतिहासिक धार्मिक महोत्सवमा सहभागी भई सांस्कृतिक एकता, सहिष्णुता र भक्तिभावलाई सुदृढ पार्न आग्रह गरेको छ।