स्वास्थ्य सुविधा अभाव भएका दुर्गम क्षेत्रलाई प्राथमिकता, पारदर्शी मापदण्डको आधारमा छनोट
काठमाडौं__ विभिन्न कारणले विगत १ वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य पुनः सुरु हुने भएको छ। २०८२ साल असोज ७ गते, मंगलबारदेखि यो कार्यक्रम सुरु गरिने र पहिलो चरणमा देशभरका ३५ वटा गाउँपालिकामा एम्बुलेन्स वितरण गरिने भएको हो।
सरकारका अनुसार वितरण प्रक्रिया पूर्ण पारदर्शी मापदण्डका आधारमा अघि बढाइनेछ। विशेषगरी स्वास्थ्य सुविधा अभावमा पछाडि परेका दुर्गम भूभागका स्थानीय तहलाई प्राथमिकतामा राखी छनोट गरिएको बताइएको छ।
स्वास्थ्य सेवा पहुँचलाई सबै नेपालीको आधारभूत अधिकारका रूपमा व्याख्या गर्दै सम्बन्धित निकायले जीवन बचाउनु आफ्नो जिम्मेवारी भएको जनाएको छ। "यो मात्र सुरुवात हो," विज्ञप्तिमा उल्लेख छ, "अब कुनै पनि नेपालीले स्वास्थ्य सेवाको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो।"
पालिका छनोट मापदण्डमा भौगोलिक दुर्गमता, स्वास्थ्य पूर्वाधारको अवस्था, आपतकालीन सेवाको आवश्यकता, जनसंख्या र सेवा–उपलब्धतामाथि विशेष ध्यान दिइएको छ।