जेन–जी आन्दोलनका क्रममा निजी सम्पत्ति, उद्योग र व्यापारिक प्रतिष्ठानमाथि भएको क्षतिको बीच पनि लगानीकर्ता र उद्यमी आशावादी
काठमाडौं, जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्र र उद्योगी–व्यवसायीलाई लक्षित गर्दै भएको भीषण आक्रमणले देशको आर्थिक संरचना नै हल्लाएको छ। घर, कार्यालय, कारखाना, शोरुम र स्टोरहरूमा गरिएको आगजनी र लुटपाटका कारण अर्बौंको क्षति भए पनि उद्यमी र लगानीकर्ताले निराशा होइन, अझ बलियो पुनर्निर्माणको संकल्प व्यक्त गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले आफ्नो परिवार समेत प्रभावित भए पनि मनोबल नघटाएको स्पष्ट पारे। उनले भने, “देश अझै सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र सुदृढ होस्, हामी रोजगारी सिर्जना गर्न र लगानी बढाउन अझै प्रतिबद्ध छौं।” त्यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पनि यो विपत्तिबाट नयाँ विचार र नयाँ प्रतिबद्धताको जन्म हुने बताएका छन्।
आक्रमणबाट चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको निवास र डिजिटल पार्क ध्वस्त पारियो, भाटभटेनी सुपरमार्केटका एक दर्जनभन्दा बढी स्टोर खरानी बनाइए, नाडा अटोमोबाइल्सका पूर्वअध्यक्ष ध्रुव थापाको घरमा आगजनी हुँदा कर्मचारीको ज्यानै गयो। कान्तिपुर पब्लिकेशनसमेत प्रदर्शनकारीको निशानामा प¥यो र दुई दिनसम्म प्रसारण ठप्प रह्यो। तर यति ठूलो क्षतिबाट गुज्रिए पनि व्यवसायीहरूको मनोबल भने ढलेको छैन।
व्यवसायी करण चौधरीले विगतलाई पछाडि छोडेर पुनः निर्माणतर्फ अघि बढ्ने घोषणा गरेका छन्। भाटभटेनीले पनि आफ्ना कर्मचारी र ग्राहकलाई सन्देश दिँदै पुनः उठ्ने भरोसा दिएको छ। उनीहरूको साझा सन्देश छ—इतिहासले आगोको विनाशलाई होइन, त्यसबाट कसरी पुनः उठ्न सकिन्छ भन्ने कुरा सम्झनेछ।
उता, उद्योग वाणिज्य महासंघले अर्बौंको क्षति भएको भन्दै निजी क्षेत्रलाई सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ। उद्योग परिसंघले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई अनिवार्य ठहर गर्दै देशलाई नयाँ दिशातर्फ अघि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ। समुद्रपार निकासी–पैठारी संघले लगानीमा दीर्घकालीन असर पर्ने चेतावनी दिएको छ भने होटल संघ नेपालले मात्र करिब २५ अर्ब बराबरको क्षति भएको दाबी गर्दै राज्यलाई क्षतिपूर्ति प्याकेज उपलब्ध गराउन आग्रह गरेको छ।
आन्दोलनका क्रममा भएको योजनाबद्ध आक्रमणले रोजगारी, लगानी र समग्र अर्थतन्त्रमा गहिरो चोट पुर्याए पनि उद्यमीहरूको प्रतिबद्धता भने अझै दृढ बनेको छ। उनीहरू भन्छन्—“हामी फेरि उठ्छौं, अझ मजबुत भएर।”