महावीर पुन शिक्षा मन्त्री नियुक्त, सपथ ग्रहण गर्दै भने– “राजनीति गर्ने सोच थिएन, तर देशको लागि गर्छु”
मोरङ ! ६,सोमबार
नेपालका चर्चित आविष्कारक तथा सामाजिक अभियन्ता डा. महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरिएको छ। उनले सोमबार राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
“म मन्त्री बन्ने कुरा कहिल्यै सोचेकै थिइनँ”
सपथपछि सञ्चारकर्मीले अब देशका लागि के गर्ने भनेर सोध्दा मन्त्री पुनले भने– “मलाई अचानक मन्त्री बनाइयो। मैले कुनै राजनीति गर्ने सोच राखेको थिइनँ। अहिले तत्काल केही भन्न गाह्रो छ, तर म देशका लागि गर्नेछु।”
उनले थपे– “मलाई सरकारी सुविधा चाहिँदैन। म त हाप पेन्ट र सामान्य जुत्ता लगाएर शीतल निवास आउन तयार थिएँ, तर मन्त्री पदको गरिमाले दौरा सुरुवाल र कोट लगाउन बाध्य भएँ। मन्त्रालयमै सुत्ने, खाना पकाउने र खुरुखुरु काम गर्ने मेरो शैली हुनेछ।”
जीवनकथा र योगदान
१९५५ सालमा म्याग्दी जिल्लाको नाङ्गी गाउँमा जन्मेका महावीर पुन साधारण किसान परिवारका सन्तान हुन्। दुर्गम गाउँमा सीमित स्रोतबीच शिक्षा हासिल गरेर उनले उच्च शिक्षा अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातकोत्तर गरे।
विदेशमै बस्ने अवसर हुँदा पनि उनी गाउँ फर्किए र आफ्नै गाउँमा विद्यालय पुनर्निर्माण गरे। त्यसपछि उनले सुरु गरे नेपाल वायरलेस प्रोजेक्ट, जसले ग्रामीण बस्तीमा इन्टरनेट र टेलिमेडिसिन सेवा पुर्यायो। यसै क्रममा उनले अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाए र सन् २००७ मा Magsaysay Award प्राप्त गरे।
देशमा आविष्कार र अनुसन्धानको संस्कृति विकास होस् भन्ने उद्देश्यले उनले राष्ट्रिय आविष्कार केन्द्र (National Innovation Center) स्थापना गरे। कोभिड–१९ महामारीमा उनले नेतृत्व गरेको टोलीले स्वास्थ्य उपकरण निर्माण गरी ठूलो सहयोग पुर्यायो।
उनको पुस्तक
महावीर पुनले हालै आफ्नो आत्मकथा “महावीर पुन — सम्झना, सपना र अविरल यात्रा” प्रकाशित गरेका छन्। पुस्तकमा बाल्यकालदेखि लिएर अमेरिका अध्ययन यात्रा, गाउँ फर्किएर गरेको संघर्ष, इन्टरनेट परियोजना, राष्ट्रिय आविष्कार केन्द्र र सामाजिक सेवासम्मको कथा समेटिएको छ। पुस्तक बिक्रीबाट आएको आम्दानी उनले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनमा प्रयोग गर्ने घोषणा गरेका छन् !
शिक्षक, आविष्कारक र समाजसेवीका रूपमा परिचित महावीर पुन अब शिक्षा मन्त्रीको जिम्मेवारीमा छन्। उनको भनाइअनुसार मन्त्री पदसम्म पुग्नु आकस्मिक भए पनि उनले आफ्नो पुरानो शैली– सरल जीवन, कडा मेहनत र देशसेवामा निरन्तरता दिने संकेत गरेका छन्।