रंगेलीको संसारी मन्दिरमा प्रदेश स्तरीय फूलपाती बढाइँ सम्पन्न

रंगेलीको संसारी मन्दिरमा प्रदेश स्तरीय फूलपाती बढाइँ सम्पन्न

मोरङ, आश्विन १३ – मोरङको रंगेलीस्थित प्रख्यात संसारी मन्दिरमा सोमबार प्रदेश स्तरीय फूलपाती बढाइँ महोत्सव भव्य रूपमा सम्पन्न भयो। आश्विन शुक्ल सप्तमीका दिन आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।

संसारी मन्दिरलाई आठ वर्षअघि प्रदेश स्तरीय मन्दिर घोषणा गरिएकोदेखि नै प्रत्येक वर्ष उच्चपदस्थ अतिथिको प्रमुख आतिथ्यमा फूलपाती बढाइँ महोत्सव आयोजना हुँदै आएको छ। यसपालि पनि मन्दिर व्यवस्थापन समितिको संयोजनमा धार्मिक परम्परा अनुसार विशेष पूजा, डोली यात्रा र विविध सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गरिएका थिए।

महोत्सवअन्तर्गत मन्दिर प्राङ्गणबाट सुरु भएको विशेष डोली यात्रा नगरपालिकाको परिक्रमा गर्दै रंगेली–७ स्थित बेलवृक्षमा पुगेर पूजा सम्पन्न गरिएको थियो। त्यहाँबाट बेलपत्र टिपी यात्रा नगरपालिकाका विभिन्न स्थान हुँदै इलाका प्रहरी कार्यालय परिसरमा रहेको भगवती मन्दिरमा पुगेर पूजा तथा सलामी अर्पण गरियो। त्यसपछि यात्रा स्थानीय काली मन्दिर पुगेको थियो, जहाँ विधिपूर्वक बली अर्पणसँगै नेपाली सेनाद्वारा सलामी अर्पण र प्रसाद ग्रहण गरी यात्रा पुनः संसारी मन्दिरमा फर्काइएको थियो।

मन्दिरमा परम्पराअनुसार खड्गपूजा सम्पन्न गरी खड्गद्वारा बोकाको बलि अर्पण गरिएको थियो। त्यसपछि उपस्थित भक्तजनलाई प्रसाद वितरण गरिएको थियो।

यस वर्षको फूलपाती बढाइँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्काउट नेपाल, स्थानीय NCC समूह, विद्यार्थी तथा शिक्षक, राजवंशी समाज, बांग्ला समाज, सन्थाल समाज, पन्चे बाजा, नौमती बाजा, चण्डी नाचलगायतका समाज–संस्था तथा दर्जनौं स्थानीय संघ–संस्थाले आफ्नो–आफ्नो व्यानरसहित सक्रिय सहभागिता जनाएका थिए। विद्यालय, जातीय समाज र स्थानीय संघ–संस्थाको उपस्थिति कारण महोत्सव प्रदेशकै महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित भएको छ।

मुख्यमन्त्री कार्कीले कार्यक्रममा सम्बोधन गर्दै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। साथै धार्मिक पर्यटन प्रवर्द्धनमार्फत प्रदेशको आर्थिक समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
महोत्सवमा रंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवाल, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम कुमार राजवंशी, जहदा गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी द्रविन राई, जिल्ला प्रहरी कार्यालय मोरङका एसएसपी कान्तिलाल केसीसहित जनप्रतिनिधि तथा विभिन्न निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद व्यक्त गर्दै संसारी मन्दिर व्यवस्थापन समितिले सहभागी सबैप्रति आभार प्रकट गरेको छ।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad