जेन–जी आन्दोलनका घाइते मदन कार्की: “होस फर्किँदा देश उथलपुथल भइसकेको रहेछ”

भदौ २३ मा नयाँ बानेश्वरमा गोली लागेर घाइते भएका २५ वर्षीय युवाले आन्दोलनका माग, घटनाक्रम र अनुभूति सार्वजनिक गरे

मदन कार्की

काठमाडौं ।
जेन–जी आन्दोलनका क्रममा घाइते भएका २५ वर्षीय मदन कार्कीले अस्पतालमै घटनाको अनुभव र आन्दोलनका उद्देश्य सार्वजनिक गरेका छन्।

सिन्धुपाल्चोक बलेफी–८ स्थायी घर भएका कार्की केही वर्षयता काठमाडौंमा भिडियोग्राफी पेशामा सक्रिय थिए। उनी भक्तपुर निकोसेरास्थित डेराबाट काम गरिरहेका थिए।

गत भदौ २३ गते नयाँ बानेश्वरमा भएको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा सहभागी हुँदा उनको बायाँ पाखुरामा गोली लागेको थियो। हाल उनी महाङ्काल ट्रमा सेन्टरमा उपचाररत छन्।

कार्कीले घटनाको सम्झना गर्दै भने,

“बानेश्वरको एभरेष्ट होटल अगाडि बिहान ११ बजे पुगेको थिएँ। त्यतिबेलासम्म शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। तर भीड रन्थनिँदा स्थिति तनावपूर्ण बन्यो। सुरक्षाकर्मीले अश्रुग्यास हाने, अनि अचानक गोली चल्यो। मसँगै रहेका चार–पाँच जना साथीहरू पनि घाइते भए।”

घाइते भएपछि उनलाई साथीहरूले तत्काल एम्बुलेन्समा राखी एभरेष्ट अस्पताल पुर्‍याएका थिए। तर त्यहाँ उपचारका लागि ठाउँ नहुँदा भूँइमै प्राथमिक उपचार गरिएको र पछि ट्रमा सेन्टर पठाइएको उनले बताए।

होस फर्किँदा उनले देखेका दृश्य अझै स्पष्ट छन्— देशमा राजनीतिक परिवर्तन, आगजनी र व्यापक उथलपुथल भइसकेको थियो।

आन्दोलनका उद्देश्यबारे उनी भन्छन्,

“हाम्रो मुद्दा स्पष्ट थियो— सुशासन, भ्रष्टाचार नियन्त्रण, युवापुस्ताको नेतृत्व र सामाजिक सञ्जालको सकारात्मक प्रयोग। सार्वजनिक सम्पत्ति नष्ट गर्नु हाम्रो उद्देश्य थिएन।”

कार्कीले घाइते र शहिद परिवारका लागि राहत, कानुनी कारबाही, रोजगारी र संविधान संशोधनका माध्यमबाट जनताले कार्यकारी नेतृत्व चयन गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।

उनका अनुसार,

“युवापुस्ताको बलिदानबाट बनेको सरकारले युवाले उठाएका माग सम्बोधन गर्नैपर्छ। २०४६ सालपछि उच्च तहमा पुगेकाहरूको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गर्नुपर्छ।”

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad