२५ किलोमिटर लामो यात्रामा यस वर्ष पनि दशौँ हजार श्रद्धालुको सहभागिता हुने, स्वास्थ्य र सुरक्षाको विशेष व्यवस्था
मोरङ । धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको ऐतिहासिक नवौँ पैदल निशान ध्वजा यात्रा आज (असोज १५ गते) विराटनगर–रंगेलीबीच सम्पन्न भएको छ। बिहान विराटनगरस्थित काली मन्दिरबाट सुरु भएको यात्रा दिउँसो रंगेलीको काली मन्दिरमा पुगेर समाप्त भएको हो।
२५ किलोमिटर लामो यो यात्रामा यस वर्ष पनि दशौँ हजारभन्दा बढी भक्तजनको सहभागिता रहेको आयोजक समितिले जनाएको छ। यात्राका क्रममा भक्तजनहरूले धार्मिक झण्डा (निशान) बोकेर पदयात्रा गरेका थिए।
यात्रा संयोजक मनोज अग्रवालका अनुसार भक्तजनहरूको सहजता र सुरक्षाका लागि स्वास्थ्य सेवा, खानेपानी, विश्राम स्थल, यातायात सहयोग लगायतका सम्पूर्ण व्यवस्था प्रभावकारी रूपमा गरिएको थियो।
दशैंको नवमीका दिन सम्पन्न हुने यो यात्रा धार्मिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ। यसले श्रद्धा, भक्ति र सामूहिक एकताको सन्देश दिने विश्वास गरिएको छ।
नेपालमै विशेष पहिचान बनाइसकेको यो यात्रा भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरूका लागि पनि आकर्षणको केन्द्र बनेको छ। यात्राको सफल समापनपछि आयोजक समितिले सहभागी सबैप्रति आभार प्रकट गरेको छ।