उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री घिसिङले बाहिरी परिसरको दृश्य सुधार र क्षतिको मूल्याङ्कन तुरुन्त गर्न निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा जलेका सवारीसाधनलाई अन्यत्र स्थानान्तरण गरी व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
मन्त्री घिसिङको सचिवालयले जनाएको अनुसार, सिंहदरबार परिसरमा जलेका सवारीसाधनका कारण बाहिरी दृश्य कुरुप देखिएकोले ती सवारीसाधन तुरुन्त हटाइने व्यवस्था गर्न उनले कार्यालयलाई निर्देशन दिएका छन्।
“कार्यालयको भित्री भागमा काम जारी राख्दै बाहिरी भागलाई कुरुप हुन नदिऔँ, यथासम्भव छिटो सुधार गरौँ। क्षति पुगेका सवारीसाधन यत्रतत्र फैलिएका छन्, अब सकारात्मक सन्देश दिन ती तत्काल व्यवस्थापन गरौँ,” मन्त्री घिसिङले भने।
उनले भने कि सामान्य अगलागी मात्र भएका भवनको बाहिरी भागमा रङरोगन गरिनेछ, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाइनेछ र क्षतिको मूल्याङ्कन पनि तत्काल गरिनेछ।
मन्त्री घिसिङले “हाम्रा संरचना हामी आफैँ बनाऔँ” अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने बताए।
सहरी विकास मन्त्रालयले पनि मातहतका संरचनामा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरेको जनाएको छ।