राष्ट्रपति पौडेलको आह्वान: लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एकमात्र विकल्प

शीतल निवासमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले दलहरूलाई निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा केन्द्रीत हुन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको बताएका छन्।

शुक्रबार शीतल निवासमा आह्वान गरिएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले राजनीतिक दलहरूलाई आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन आग्रह गरे।

राष्ट्रपति पौडेलले शान्ति, सुरक्षाको पर्याप्त व्यवस्था गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार र दलहरूलाई आह्वान गरे। उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपतिले जनतामा विश्वास दिलाउन सक्ने वातावरण बनाउन सरकारलाई सुझाव दिएका थिए।

उनले भने, “लोकतन्त्रको रक्षा सबैको साझा जिम्मेवारी हो। निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने देश थप अस्थिरतातर्फ जान सक्छ।”

बैठकमा सहभागी दलका नेताहरूले पनि लोकतान्त्रिक प्रणालीमा विश्वास राख्ने राजनीतिक शक्तिहरू निर्वाचनका पक्षमा रहेको बताउँदै वर्तमान सुरक्षा अवस्थाले केही आशंका जन्माएको उल्लेख गरे। उनीहरूले सरकारले त्यो शंका हटाई निष्पक्ष र स्वतन्त्र वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहकार्यबिना निर्वाचन सम्भव नहुने भन्दै शान्ति र सुरक्षाको व्यवस्था मिलाएर निर्वाचन गराउने प्रतिबद्धता जनाइन्।

कार्कीले भनिन्, “जेन–जी आन्दोलनमा देखिएको असन्तुष्टि बुझ्न जरुरी छ। ती हाम्रै युवा पुस्ता हुन्। परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न सबै दलले तयारी गर्नुपर्छ।”

बैठकमा अन्तरिम सरकारका सबै मन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको उपस्थिति थियो।
नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा,
नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल,
माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,
र समाजवादी, स्वतन्त्र, राप्रपा, जसपा, जनमत, लोसपा लगायत दलका प्रतिनिधिहरू सहभागी थिए।

राष्ट्रपतिले अन्त्यमा सबै दललाई निर्वाचन प्रक्रियामा सहकार्य गर्न र लोकतन्त्रको मजबुत संरक्षणका लागि एकताबद्ध हुन आह्वान गरे।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad