विराटनगरमा १८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, ६१ विद्यालयका १,५२५ विद्यार्थीको सहभागिता

पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र–छात्राले १३२ पदकका लागि विभिन्न खेलमा प्रतिस्पर्धा गर्दैछन्।

विराटनगर महानगरपालिका स्तरीय १८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आजदेखि विराटनगरमा औपचारिक रूपमा सुरु भएको छ। विराटनगर महानगरपालिकाको आयोजनामा तथा एभरेष्ट माध्यमिक विद्यालयको समन्वयमा प्रतियोगिता पुस ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ।

शहिद रंगशालामा आयोजित उद्घाटन समारोहमा शिल्डकप निर्देशन समितिका संयोजक तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बेलुन उडाएर प्रतियोगिताको शुभारम्भ गरेका थिए।

यस वर्षको प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत गरी ६१ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीले सहभागिता जनाएका छन्। प्रतियोगितामा छात्र र छात्रातर्फ समान रूपमा ६६–६६ गरी कुल १३२ पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।

खेलकुद विधाअन्तर्गत भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट तथा विभिन्न ट्र्याक एन्ड फिल्ड खेलहरू समावेश गरिएका छन्। प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदको भावना विकास गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको संस्कार प्रवर्द्धन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Post a Comment

Previous Post Next Post