विराटनगरमा मोटरसाइकल दुर्घटना: राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन

विराटनगर–४ को भित्री सडकमा भएको दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय थापालाई अस्पताल पुर्‍याउनासाथ मृत घोषणा गरिएको थियो।

विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ निवासी २७ वर्षीय थापा बिहीबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका थिए।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

राति करिब पौने १ बजेतिर भएको दुर्घटनापछि गम्भीर अवस्थामा रहेका थापालाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

थापा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय क्रिकेट खेलमा सक्रिय थिए। ब्याट्सम्यानका रूपमा परिचित उनी केही फ्रेन्चाइज लिगहरूमा समेत सहभागी भइसकेको परिवारले जनाएको छ।

राष्ट्रिय खेलाडीको असामयिक निधनले परिवार, आफन्त तथा क्रिकेट क्षेत्र शोकमा डुबेको छ। पारिवारिक स्रोतका अनुसार थापाका बुवा करिब १५ वर्षदेखि बेपत्ता छन्। उनी आमा तनुजा थापा र भाइ प्रदीप थापासँग विराटनगरमा बस्दै आएका थिए।

प्रहरीले दुर्घटनाको थप अनुसन्धानका लागि मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।

Post a Comment

Previous Post Next Post