अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री गुप्ताले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा दुवै पक्ष सकारात्मक हुनुपर्नेमा जोड।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरी र सवारी चालक–सहचालकबीचको सम्बन्ध आपसी समझदारी र सकारात्मक दृष्टिकोणमा आधारित हुनुपर्नेमा जोड दिएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजना गरेको सडक दुर्घटना न्यूनीकरण तथा सचेतना स्वयंसेवा कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुवै पक्ष एकअर्काप्रति सम्मानजनक व्यवहार राखे मात्र सवारी व्यवस्थापन सहज र सुरक्षित हुने बताए।
मन्त्री गुप्ताले विशेषगरी दुईपांग्रे सवारी साधनका दुर्घटना धेरै हुने तथ्याङ्क देखिएको उल्लेख गर्दै ती चालकहरूले अतिरिक्त सावधानी अपनाउनुपर्ने बताए। देश आर्थिक हिसाबले कमजोर रहेकाले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सडक सुरक्षा तथा ट्राफिक पूर्वाधार विस्तारमा सरकार लागिपरेको उनले स्पष्ट पारे।
उनका अनुसार ट्राफिक लाइट जडान, सडक संरचना सुधार र प्रहरीका भौतिक सुविधामा विस्तारका योजनाहरू क्रमशः अघि बढिरहेका छन्, तर बजेटीय सीमाका कारण सबै कार्य एकैपटक सम्पन्न गर्न नसकिएको बताइयो।
कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नेपाल प्रहरीले समुदायसँगको सहकार्यमार्फत समस्या समाधानमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी नागरिकको ज्यान–धनको सुरक्षामा निरन्तर खटिने संस्था भएकाले जनताप्रति प्रतिबद्धता कायम रहने उल्लेख गरे।
कार्यक्रममा प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी दुर्घटना, ट्राफिक चुनौती र व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
