अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती हो : राष्ट्रपति पौडेल

३५औँ स्थापना दिवसमा राष्ट्रपतिको सम्बोधन— भ्रष्टाचार नियन्त्रणका लागि सबै अंगको संयुक्त प्रतिबद्धता आवश्यक


काठमाडौं —
राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभई राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) को ३५औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले शक्ति र पदका आधारमा कोही पनि कानुनी जवाफदेहिताबाट मुक्त हुन नसक्ने विश्वास आम नागरिकमा स्थापित गराउने गरी आयोगले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।
राष्ट्रपति पौडेलका अनुसार अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र नभई नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गहिरो आघात हो। सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदा राज्य र नागरिकबीचको भरोसा कमजोर हुने र लोकतन्त्रका आधारभूत मूल्यमा क्षति पुग्ने उनले उल्लेख गरे।
उनले सत्ता, शक्ति र धनप्राप्तिको अनावश्यक मोहले प्रक्रिया र प्रणालीको दुरुपयोग गराउँदै भ्रष्टाचारतर्फ प्रवृत्त गराउने बताए। तर आचरण, व्यवहार र अभ्यासमा सुधार ल्याउन सके भ्रष्टाचार नियन्त्रण सम्भव रहेको उनको विश्वास थियो।
“सदाचार, नैतिकता, निष्पक्षता, पारदर्शिता तथा निर्भीकतालाई जीवनपद्धतिकै रूपमा अघि बढाउन सकियो भने भ्रष्टाचार नियन्त्रण सम्भव छ,” उनले भने।
राष्ट्रपतिले लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि साझा लक्ष्य भएको उल्लेख गर्दै सुशासन र पारदर्शिताविना लोकतन्त्रको प्रतिफल जनतासम्म नपुग्ने स्पष्ट पारे।
उनले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई राज्यका सबै अंग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिबद्धताबाट मात्र सफल हुने बताए।

Post a Comment

Previous Post Next Post