२१ फागुनअघि गद्दीरोहण गराई सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग
काठमाडौं —
शाही युवा शक्ति नेपालले आगामी फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुग्ने अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्न सर्वसाधारणलाई आह्वान गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगठनले २१ फागुनअघि नै ज्ञानेन्द्र शाहलाई पुनः राजगद्दीमा आरोहण गराई सर्वपक्षीय सरकार गठन गरेर निर्वाचन गराउनुपर्ने माग राखेको हो।
‘अबको निकास, निर्मल निवास’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संगठनले देशव्यापी रूपमा दबावमूलक कार्यक्रमसमेत गर्दै आएको जनाएको छ।
संगठनका अध्यक्ष पशुपति खड्काले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै देशको स्थायित्व र एकताका लागि राजसंस्था पुनःस्थापना आवश्यक रहेको धारणा राखे। उनले दलगत विभाजनभन्दा माथि उठेर राष्ट्रिय एकताका लागि अघि बढ्नुपर्ने बताए।
उक्त कार्यक्रममा पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातले पनि राजसंस्थाको पक्षमा आफ्नो धारणा व्यक्त गर्दै देशमा स्थायित्व र अनुशासनका लागि वैकल्पिक व्यवस्थामाथि बहस हुनुपर्ने उल्लेख गरे।
नेपालमा हाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कार्यान्वयनमा रहेको छ। राजसंस्था पुनःस्थापनासम्बन्धी मागहरू विभिन्न समूहबाट बेलाबेला उठ्दै आएका छन्।
