नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिसाथ मनाइँदै

फागुन कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रिमा पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको भीड

पशुपतिनाथसहित

काठमाडौं —

आज देशभर महाशिवरात्रि पर्व श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ मनाइँदै छ। फागुन कृष्ण चतुर्दशी अर्थात् फागुन महिनाको कृष्ण पक्षको चौधौँ दिन पर्ने महाशिवरात्रि भगवान शिवको आराधनाका लागि अत्यन्तै पुण्यदायी मानिन्छ।

बिहानैदेखि भक्तजनहरू नदी, पोखरी तथा जलाशयमा स्नान गरी शिवालयहरूमा पुगेर पूजा–अर्चना गरिरहेका छन्। महाशिवरात्रिको मुख्य आकर्षणका रूपमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा आज विशेष चहलपहल देखिएको छ।महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोषले आज बिहान २ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरेको छ। गत वर्ष एक करोडभन्दा बढी भक्तजनले पशुपति क्षेत्र दर्शन गरेको कोषले जनाएको छ।

यस वर्ष भक्तजनको सहज दर्शनका लागि कोषले बाहिरी क्षेत्रमा तीनवटा प्रवेश लाइनको व्यवस्था गरेको छ। दक्षिण ढोकाबाट मित्रपार्क–गौरीघाट र बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगंगा तथा पिङ्गलास्थान–सुमार्गी भवन हुँदै पञ्चदेवल मन्दिरबाट प्रवेशको व्यवस्था मिलाइएको छ। पश्चिमतर्फ जुत्ता घरबाट बनकाली उकालो हुँदै प्रवेश लाइन राखिएको छ भने आवश्यक परेमा तिलगंगा राममन्दिरतर्फ थप लाइन सञ्चालन गरिने व्यवस्था गरिएको छ।मन्दिरभित्र उत्तर र दक्षिणतर्फबाट तीनवटा तथा पश्चिमतर्फबाट चारवटा आन्तरिक लाइन व्यवस्थापन गरिएको छ। सवारी साधनको व्यवस्थापनका लागि सिफल, तिलगंगा, गुह्येश्वरीपारि, कोष कार्यालय क्षेत्र तथा बनकाली क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।

पशुपतिनाथसँगै उपत्यकाका अन्य शिवालयहरू—गोकर्णेश्वर, डोलेश्वर लगायत—तथा काठमाडौं बाहिरका विभिन्न शिव मन्दिरहरूमा पनि भक्तजनको उल्लेखनीय भीड लागेको छ। महाशिवरात्रि पर्वका अवसरमा शिवभक्तहरू व्रत बस्ने, रुद्राभिषेक गर्ने तथा रातभर जाग्राम बस्ने परम्परा पनि रहेको छ।

Post a Comment

Previous Post Next Post