दाइजोमुक्त विवाह: रंगेली–विराटनगरका परिवारको उदाहरणीय कदम
धनुषा धामस्थित सतलोक आश्रम मा फागुन ४ गते बोध दिवसको विशेष अवसर पारेर दाइजोमुक्त सामूहिक विवाह कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक सुधार र सादा विवाह अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त समारोहमा ७ जोडीले दाइजो नलिई–नदिई वैवाहिक जीवनको सुरुवात गरेका छन्।
रंगेली नगरपालिका–५, अमगाछी निवासी शंकर प्रसाद मण्डल (दास), जो सन्त रामपाल जी माहराज का अनुयायी हुनुहुन्छ, उहाँका सुपुत्र जयकृष्ण मण्डल र विराटनगर–१९, बैजनाथपुर निवासी मनोज राजबंशीकी सुपुत्री उर्मिला राजबंशीबीच सादा तथा दाइजोमुक्त विवाह सम्पन्न भएको हो।
कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजक पक्षले जनाएको छ। करिब ५० हजारभन्दा बढी अनुयायी साक्षी रहेको दाबी गरिएको यस समारोहले विवाहलाई सरल, मर्यादित र आर्थिक बोझरहित बनाउन सकिने सन्देश दिएको छ।
आयोजकका अनुसार दाइजो प्रथाले समाजमा असमानता, आर्थिक दबाब र महिला हिंसाजस्ता समस्या निम्त्याउने भएकाले यसलाई अन्त्य गर्न यस्ता सामूहिक दाइजोमुक्त विवाहलाई अभियानकै रूपमा अघि बढाइएको हो। समारोहमा सत्संग, आध्यात्मिक प्रवचन तथा सामाजिक चेतनामूलक सन्देशहरू समेत प्रस्तुत गरिएको थियो।
यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तनको सन्देश फैलाउने अपेक्षा गरिएको छ। सहभागीहरूले दाइजोमुक्त विवाहले छोरीलाई बोझ नभई समान अधिकार र सम्मान प्राप्त व्यक्तिका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।