नामावलीमा नाम दर्ता अनिवार्य, नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित अन्य कागजात मान्य हुने स्पष्ट
काठमाडौं —
निर्वाचन आयोग नेपालले मतदाता परिचयपत्र नभए पनि निश्चित सरकारी कागजातका आधारमा मतदान गर्न सकिने स्पष्ट गरेको छ।
आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त जिज्ञासाको जवाफ दिँदै मतदाता परिचयपत्र नभए मतदान गर्न पाइन्छ कि पाइँदैन भन्ने प्रश्नमा ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न सकिने जनाएको हो।
आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने अनिवार्य छ। नामावलीमा नाम दर्ता भएका मतदाताले सामान्यतया मतदानका क्रममा मतदाता परिचयपत्र साथमा लैजानुपर्ने व्यवस्था छ।
तर मतदाता परिचयपत्र नभएको वा नष्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एक सक्कल कागजात प्रस्तुत गरेमा मतदान गर्न सकिने आयोगले स्पष्ट पारेको छ।
आगामी २१ फागुनमा निर्वाचन हुने तय भएको छ। आयोगले मतदातालाई आवश्यक कागजातसहित मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ।
