कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मतदानपछि छिटो मतगणना र नतिजा प्रकाशन गरिने स्पष्ट पारे
निर्वाचन आयोगले मतदान सम्पन्न भएको २४ घण्टाभित्रै निर्वाचनको नतिजा सार्वजनिक गर्ने तयारी पूरा भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार समयमै नतिजा दिन आवश्यक व्यवस्थापन र पूर्वतयारी भइसकेको छ।
प्रतिनिधिसभा सदस्य चयनका लागि यही फागुन २१ गते देशभर मतदान हुँदैछ। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् भने बाँकी ११० सदस्य समानुपातिक प्रणालीबाट चयन गरिनेछन्।
मतदान प्रक्रियामा सहभागी हुन सबै मतदातालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै भण्डारीले मतदानपछि छिटो मतपेटिका संकलन, सुरक्षित ढुवानी र तत्काल मतगणना गरिने जानकारी दिएका छन्। उनका अनुसार आयोगले सकेसम्म कम समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ।
फागुन २१ गतेको निर्वाचनका लागि आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो। सो अवधि आज राति १२ बजेदेखि समाप्त हुँदै मौन अवधि सुरु हुनेछ, जुन मतदान प्रक्रिया सम्पन्न नभएसम्म लागू रहनेछ।
मौन अवधिमा सबै राजनीतिक दल, उम्मेदवार र समर्थकलाई अनुशासन कायम गर्न आयोगले आग्रह गरेको छ। मौन अवधिलाई शान्तिपूर्ण रूपमा स्वीकार गर्न भण्डारीले सबै पक्षलाई अनुरोध गरेका छन्।
