रङ्गेली–५ मा सार्वजनिक सुनुवाइ सम्पन्न, स्थानीयले उठाए विकास, कृषि, शिक्षा र पारदर्शिताका सवाल

रङ्गेली, असार ३०। रङ्गेली नगरपालिकाले असार ३० गते वडा नं. ५ कार्यालयको प्राङ्गणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कावा नगर प्रमुख भुमा पराजुलीको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहको आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमको प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले नगरपालिकाको सेवा प्रवाह, बजेट कार्यान्वयन तथा विकास निर्माणसम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए।

सार्वजनिक सुनुवाइमा सहभागी स्थानीय नागरिकहरूले कृषि, शिक्षा, कर प्रणाली, विकास निर्माण र सेवा प्रवाहसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा, सुझाव तथा गुनासा राखेका थिए।

नेपाली कांग्रेस मोरङका जिल्ला सचिव मोदराज घिमिरेले पहिलो जिज्ञासा प्रस्तुत गर्दै नगरपालिकाको कार्यसम्पादनबारे प्रश्न उठाएका थिए। स्थानीय सञ्चारकर्मी सुरेन्द्र मण्डलले निजी जग्गामा निर्माणाधीन सामुदायिक भवनको विषय उठाउँदै वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टीकरण माग गरेका थिए।

नेपाली कांग्रेसका स्थानीय सभापति अरुणकुमार पण्डितले वर्षाको पानी निकास नहुँदा दर्जनौँ किसानको धान डुबानमा परेको भन्दै तत्काल निकासको व्यवस्था गर्न माग गरे। साथै, डुबान प्रभावित जग्गाको कर नलिने घोषणा गर्नुपर्ने र पूर्व नगरप्रमुख फिलिप अग्रवालले ९ वर्षको कार्यकालमा अपेक्षित काम गर्न नसकेको आरोप पनि लगाए।

स्थानीय हरिश मण्डलले घर निर्माण सुरु गरेलगत्तै कर उठाउने व्यवस्था, खुला व्यापारीमाथि हुने अनावश्यक निगरानी तथा विकास योजनाको बजेट, स्रोत, सुरु र सम्पन्न मितिलगायतका विवरण सार्वजनिक नगरेको विषयमा प्रश्न उठाउँदै पारदर्शिता कायम गर्न माग गरे।

रङ्गेली–६ निवासी जेन्जी धर्मेन्द्रकुमार सिंहले +२ तहमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीका लागि आवश्यक शैक्षिक सुविधा र पूर्वाधारको व्यवस्था गर्न नगरपालिकाको ध्यानाकर्षण गराए।

कार्यक्रममा उठाइएका जिज्ञासाको सम्बन्धमा जनप्रतिनिधि तथा नगरपालिकाका पदाधिकारीहरूले आ–आफ्नो धारणा र स्पष्टीकरण प्रस्तुत गरेका थिए। सार्वजनिक सुनुवाइमार्फत स्थानीय नागरिकका गुनासा, सुझाव र जिज्ञासा सुन्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

Post a Comment

Previous Post Next Post