रास्वपा मोरङ क्षेत्र नं. ५ को प्रथम विस्तारित बैठक सम्पन्न
सुरेन्द्र मण्डल !
रंगेली, मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ क्षेत्र नं. ५ को प्रथम विस्तारित बैठक शनिबार धनपालथान गाउँपालिका–४, करसियास्थित सिंचाइ कार्यालयको सभाहलमा सम्पन्न भएको छ।
बैठक क्षेत्रीय सभापति गणेश राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा मोरङ क्षेत्र नं. ५ की प्रतिनिधिसभा सदस्य आशा झा तथा विशेष अतिथिका रूपमा रास्वपा कोशी प्रदेश सभापति चन्द्रबहादुर राई को उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रीय सदस्य, जिल्ला उपाध्यक्ष, जिल्ला सचिव, साथै क्षेत्र नं. ५ अन्तर्गत पर्ने रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाका पालिका सभापति तथा वडाध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद आशा झा ले जुट मिललाई यथाशीघ्र सञ्चालनमा ल्याउन पहल गर्ने बताइन्। यदि हालको अवस्थामा जुट मिल सञ्चालन गर्न सहज वातावरण नबनेमा सो स्थानमा अन्य उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्ने वातावरण बनाइने प्रतिबद्धता उनले व्यक्त गरिन्।
त्यसैगरी कोशी प्रदेश सभापति चन्द्रबहादुर राई ले पार्टी संगठनको आधार वडा तह भएको उल्लेख गर्दै स्थानीय समस्यालाई वडा तहबाट नगर, नगरबाट जिल्ला, जिल्लाबाट प्रदेश हुँदै केन्द्र र अन्ततः संसदसम्म पुर्याउने जिम्मेवारी पार्टीका जनप्रतिनिधि र पदाधिकारीको रहेको बताए। उनले वडाध्यक्षहरूलाई जनताका समस्या व्यवस्थित रूपमा संकलन गरी सम्बन्धित निकायसम्म पुर्याउन निर्देशन दिए।
राईले सञ्चारको भूमिकाबारे पनि जोड दिँदै पार्टीका नेता तथा कार्यकर्ताले केवल सञ्चारमाध्यमको भर नपरी आफू स्वयं पनि नागरिक पत्रकारको भूमिकामा प्रस्तुत हुनुपर्ने बताए। आफ्नै मोबाइल प्रयोग गरेर गतिविधि, समाचार र जनताका विषयवस्तु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न उनले आग्रह गरे।
कार्यक्रममा जिल्ला सचिव दिवश नेपाल ले पार्टी विस्तार तथा संगठन सुदृढीकरणबारे मन्तव्य व्यक्त गर्दै अनुशासनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। उनले ठूलो पद पाउँदैमा आफू जे गरे पनि वा जे बोले पनि हुने भन्ने सोच पार्टीभित्र स्वीकार्य नहुने स्पष्ट पार्दै सबै पदाधिकारीलाई जिम्मेवार, मर्यादित र अनुशासित ढंगले काम गर्न निर्देशन दिए।
बैठकमा सहभागी विभिन्न पालिकाका पदाधिकारीहरूले संगठन विस्तार, जनसम्पर्क, स्थानीय समस्याको पहिचान तथा समाधानका विषयमा धारणा राखेका थिए। साथै आगामी दिनमा पार्टीलाई वडा तहदेखि अझ प्रभावकारी रूपमा विस्तार गर्दै जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ! कार्यक्रम मा अधिकांश वक्ता ले ,देशको मुख्य समस्या काे रूपमा रहेको मलखाद सम्बन्धी आवाज उठाएका थिए !