स्थानीय निर्वाचनको तयारीमा रास्वपा, मोरङका तीन पालिकामा बैठक तथा अन्तरक्रिया सम्पन्न
मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तथा आन्तरिक तयारीलाई अघि बढाएको छ। यसै क्रममा मोरङ क्षेत्र नं. ५ अन्तर्गतका रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकामा आज पालिकास्तरीय विस्तारित बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन्।
तीनवटै पालिकामा सम्पन्न कार्यक्रममा आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीभित्रबाट प्रतिनिधित्व गर्न इच्छुक सदस्यहरूले भदौ १ गतेदेखि आफ्नो उम्मेदवारीसम्बन्धी विवरण प्रस्तुत गर्ने प्रक्रियाका विषयमा छलफल गरिएको जनाइएको छ।
बैठक तथा अन्तरक्रियामा स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक सदस्यहरूले आफ्नो विवरण कसरी प्रस्तुत गर्ने, उम्मेदवारी प्रक्रियालाई व्यवस्थित बनाउने, संगठनलाई थप सक्रिय बनाउने तथा आगामी निर्वाचनका लागि आवश्यक तयारी कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको बताइएको छ।
रंगेलीमा विस्तारित बैठक
रंगेली नगरपालिकामा सम्पन्न विस्तारित बैठकको अध्यक्षता रंगेली नगर सभापति हरिन्द्र बरालले गरेका थिए। बैठकमा प्रदेश सदस्य सम्झना पण्डित, जिल्ला अध्यक्ष भरत कँडेल, प्रदेश प्रतिनिधि दुनिल्दत्त अधिकारी, महाधिवेशन प्रतिनिधि बज्राङ्ग अग्रवाल लगायत रंगेली नगर समितिका सदस्य तथा पालिका मातहतका वडा तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठकमा आगामी स्थानीय निर्वाचनको तयारी, उम्मेदवारी प्रक्रियालगायत संगठनात्मक विषयमा छलफल गरिएको जनाइएको छ।
धनपालथानमा विस्तारित बैठक
त्यस्तै, धनपालथान गाउँपालिकामा कल्याण पन्तको अध्यक्षतामा पालिकास्तरीय विस्तारित बैठक सम्पन्न भएको छ।
बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी प्रक्रिया, संगठनको वर्तमान अवस्था तथा आगामी दिनमा सञ्चालन गरिने पार्टीगत गतिविधिका विषयमा छलफल भएको बताइएको छ।
जहदामा अन्तरक्रिया कार्यक्रम
यसैगरी, जहदा गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता मोरङ क्षेत्र नं. ५ का संयोजक गणेश राईले गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा आगामी स्थानीय निर्वाचनको तयारी, इच्छुक सदस्यको उम्मेदवारी विवरण प्रस्तुत गर्ने प्रक्रिया तथा स्थानीय तहमा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने विषयमा छलफल गरिएको जनाइएको छ।
रास्वपाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पालिका तथा वडा तहमा संगठनात्मक गतिविधिलाई निरन्तरता दिइरहेको छ। आज सम्पन्न बैठक तथा अन्तरक्रियालाई पनि सोही तयारीको एक हिस्साका रूपमा हेरिएको छ।