नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

सुनसरी–सिरहा घटना छानबिन प्रतिवेदन: बाहिरी घुसपैठ पुष्टि भएन, सुरक्षाकर्मीको गोलीबाट चार जनाको मृत्यु

दुवै घटनामा गोली चलाउने सुरक्षा अधिकारीलाई कारबाही सिफारिस, भिड नियन्त्रणमा गैरघातक हतियार र बडीवर्न क्यामेरा प्रयोग गर्न सुझाव

Dewangaj

काठमाडौं । सुनसरी र सिरहामा भएका घटनाबारे छानबिन गर्न गठित छुट्टाछुट्टै समितिले आन्दोलनका क्रममा बाहिरी घुसपैठ भएको पुष्टि नभएको निष्कर्ष निकालेका छन्।
गृह मन्त्रालयअन्तर्गत गठन भएका दुई समितिले बुझाएको प्रतिवेदनअनुसार दुवै घटनामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाट चार जनाको मृत्यु भएको उल्लेख छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी २० राउन्ड गोली चलाएको प्रतिवेदनमा उल्लेख छ। घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको बताइएको छ।
१० साउन राति चर्को आवाजमा डिजे बजाएको विषयमा सुरु भएको विवादपछि अवस्था तनावपूर्ण बनेको थियो। झडप बढेपछि प्रहरीले बल प्रयोग गरेको र पछि सशस्त्र प्रहरीसमेत परिचालन गरिएको समितिको प्रतिवेदनमा उल्लेख छ।
सिरहामा भएको अर्को घटनामा पनि सुरक्षाकर्मीले चलाएको गोलीबाट गणेश यादवको मृत्यु भएको समितिले निष्कर्ष निकालेको छ। घटनास्थलमा ९ राउन्ड गोली चलेको र त्यसमध्ये दुई राउन्ड पेस्तोलबाट चलेको प्रतिवेदनमा उल्लेख छ। पेस्तोलबाट चलेको एक गोली यादवलाई लागेको र अर्को गोली लागेर अर्का व्यक्ति घाइते भएको जनाइएको छ।
सिरहामा प्रहरी जवानलाई समेत गोली लागेको दाबी गरिए पनि छानबिन समितिले गोली लागेको पुष्टि नभएको जनाएको छ। समितिका अनुसार मेडिकल परीक्षणबाट गोली लागेको प्रमाणित नभए पनि छर्रा लागेको हुन सक्ने देखिएको छ।
सुनसरी घटनाको छानबिन गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठित समितिले गरेको थियो भने सिरहा घटनाको अध्ययन सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले गरेको थियो। दुवै समितिले प्रतिवेदन बुझाइसकेका छन्।
गोली चलाउने सुरक्षा अधिकारीलाई कारबाही सिफारिस
छानबिन समितिले दुवै घटनामा गोली चलाउने सुरक्षा अधिकारीमाथि आवश्यक कारबाही गर्न सिफारिस गरेको छ। प्रतिवेदनमा घटनाका क्रममा जिल्ला प्रहरी प्रमुख, फिल्ड कमान्डर तथा प्रमुख जिल्ला अधिकारीको भूमिकासमेत अध्ययन गरिएको बताइएको छ।
गृह मन्त्रालयले प्रतिवेदन अध्ययन गरेपछि आवश्यक निर्णय लिने जनाएको छ।

भिड नियन्त्रणमा गैरघातक हतियार प्रयोग गर्न सुझाव
भविष्यमा यस्ता घटना दोहोरिन नदिन समितिले भिड नियन्त्रणमा खटिने सुरक्षाकर्मीका लागि विभिन्न सुझाव दिएको छ।
प्रतिवेदनमा भिड नियन्त्रणका क्रममा गैरघातक हतियार तथा रबरको गोली प्रयोग गर्नुपर्ने, हतियार बोकेका सुरक्षाकर्मीले बडीवर्न क्यामेरा प्रयोग गर्नुपर्ने र घटनाको भिडियो तथा फोटो सुरक्षित राख्नुपर्ने सुझाव दिइएको छ।
त्यस्तै, विधिविज्ञान प्रयोगशालाको क्षमता विस्तार, सुरक्षाकर्मीलाई भिड नियन्त्रणसम्बन्धी थप तालिम तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउन पनि समितिले सुझाव दिएको छ।
प्रतिवेदन सार्वजनिक भएपछि सुनसरी र सिरहाका घटनामा सुरक्षा निकायको बल प्रयोग, जवाफदेहिता तथा भिड नियन्त्रणको शैलीबारे थप बहस सुरु हुने देखिएको छ।

Post a Comment

Previous Post Next Post